बाँके कात्तिक १९ गते ।
जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार मध्यराती गएको भूकम्पमा परि घाइते भएका मध्य ३८ जनाको नेपालगन्जमा उपचार जारी रहेको छ । गएराती १ बजे ६ जना घाइतेलाई नेपालगन्ज ल्याइएसँगै नेपालगन्जमा उपचाररत घाइतेको संख्या ३८ पुगेको हो ।
मध्यराती १ बजे भेरी नगरपालिकाका २ जना र सानीभेरी रुकुमका ४ जना घाइतेलाई नेपालगन्ज ल्याइपुर्याइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए ।
जिल्ला आपतकालिन कार्यालय संचालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार गएराति १२ बजेसम्म पाँच जना गम्भीर घाइतेको सफल अपरेशन भएको छ।
शल्यक्रिया गरिएको र उपचाररत सबैको अवस्था सुधारोन्मुख रहेको पनि श्रेष्ठले बताए ।
उनका अनुसार बाँके ल्याइएका मध्य १ जनाको भने मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । उनलाई पनि भेरीमा ल्याउने तयारी गरिएको श्रेष्ठले बताए ।
घाइतेमध्य एक जना गर्भवती पनि छन् । गर्भवती १९ बर्षिया महिलाको पेट भित्र को बच्चा मरेकोले प्रसुती कक्षमा प्रसुतिको लागी भर्ना गरिएको फोनकल पर्सन श्रेष्ठले जानकारी दिए ।
१ जना घाइतेको भने शुक्रबार नेपालगन्ज ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो । उनको शवलाई आज बिहान जाजरकोट पठाइएको बाँकेका प्रजिअ पोखरेलले बताए ।
Discussion about this post