बाँके कात्तिक २५ गते ।
बाँके कारागारमा कैदीबन्दीलाई सिदाबापतको रकम वितरण गरिएको छ । राज्यबाट प्राप्त हुने सुविधामा कैदीबन्दी प्रत्यक्ष पहुँच पु¥याउन कारागारका कैदीबन्दीलाई सिदाबापत पाउने रकम वितरण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा ९ सय २० जना कैदीबन्दीलाई कात्तिक १ देखि १५ गतेसम्मको १२ सय रुपैयाँ दिइएको हो । कैदीबन्दीले कारागारमा सिदाबापत दैनिक ८० रुपैयाँ नगद र ७ सय ग्राम चामल पाउँछन् । प्रजिअ पोखरेलका अनुसार कैदीबन्दीहरुले आगामी दिनमा सेवासुविधा प्रत्यक्ष रुपमा प्राप्त गर्नेछन् ।
कारागार व्यवस्थापन विभागअन्तर्गत बाँके कारागारमा पहिलो पटक कैदीबन्दीलाई प्रत्यक्ष रुपमा सेवा सुविधा उपलब्ध गराइएको प्रजिअ पोखरेलले बताउनुभयो। ‘राज्यबाट प्रदान गरिएको सेवा सुविधा विचौलियाले दुरुपयोग गर्न नपाउन् भन्ने उद्देश्यले हामीले प्रत्यक्षरुपमा कैदीबन्दीकै हातमा सुविधा पुगोस् भनेर यो व्यवस्था लागू गरेका हौं,’ उहाँले भन्नुभयो ‘कारागार प्रशासन र कैदीबन्दी बीचको सोझो सेवा प्रवाह र चौकीदार, नाईके र सहायक नाईकेबाट प्रायः हुने गरेको रकम चुहावट रोक्नका लागि यो व्यवस्था लागू गरेका हौं ।’ यसअघि चौकीदार, नाईके र सहायक नाईकेमार्फत रकम वितरण हुने गरेको थियो ।
बाँके कारागारका निमित्त नायव सुब्बा नयनबहादुर कार्कीका अनुसार कैदीबन्दीलाई जाडो र गर्मी मौसममा प्रयोग हुने लुगाबापत नगद दिने व्यवस्था गरिएको छ । कैदीबन्दीले खाना र लत्ताकपडा सुविधा भए पनि बस्ने ठाउँ साघुरो भएको भन्दै उपयुक्त बासको व्यवस्था गर्न प्रजिअसमक्ष माग गरेका थिए ।
साथै उनीहरुले बिरामी भएको अवस्थामा समयमा उपचार नपाएको गुनासो गरेका थिए । बन्दीको समस्या सुनेपश्चात् प्रजिअ पोखरेलले कारागार विभागसँग छलफल गरेर सम्बोधन गर्ने आश्वासन दिनुभएको छ ।
तीन सय ५० जनाको क्षमता रहेको उक्त कारागारमा हाल ९ सय २० जना कैदीबन्दी छन् । क्षमताभन्दा बढी कैदीबन्दी रहेको कारागारको अवस्था जीर्ण छ । उक्त कारागारमा ४ सय ७५ जना कैदी र ४ सय ४५ जना थुनुवा रहेका छन् ।
Discussion about this post