बाँके कात्तिक २७ गते ।
नेपालगन्ज उपमहानगरपालिका १३ उदयपुरका हजारी कुम्हारको पुख्र्यौली पेशा माटाका भाँडा बनाउने हो । यहि पेशाबाट बाजे, बाबुको गुजारा राम्रै चलेको देखेपछि उनले पनि पुख्र्यौली पेशालाई निरन्तरता दिए । तर, बजारमा आधुनिक तथा नफुट्ने सामान आएपछि कुम्हारको पेशा संकटमा पर्न थाल्यो ।
उनले माटाका भाँडा बनाउने पेशा छाडेका त छैनन्, तर जिविका चलाउन उनले खेतिपाती पनि गर्न थालेका छन् । ‘माटाका भाँडाले मात्रै जिविका चलाउन मुस्किल भएपछि खेतिपाती गर्न थालेको छु,’ उनले भने ।
माटाका भाँडा दसैँ, तिहार र छठमा मात्र विक्रि हुने गरेको उनले सुनाए । उनले माटाका भाँडा दसैँ र तिहारको समयमा धेरै उत्पादन गर्छन् । ‘दसैँ, तिहार र छठमा धेरै विक्रि हुन्छ । अघिपछि सामान्य विक्रि हुन्छ,’ उनले भने ।
नेपालगन्जका चिया तथा कफी सपले माटाको कपमा चिया र कफी खुवाउन थालेपछि उनलाई केहि राहत मिलेको छ । उनका अनुसार प्लाष्टिकको कपमा चिया, कफी खुवाउनेहरु पछिल्लो समय माटाको कपमा दिन थालेका छन् । ‘माटाको कपमा चिया र दही खानेको संख्या बढेपछि केहि राहत मिलेको छ, तर चिया र कफी सपले एकदमै कममात्र किनेर लैजान्छन्,’ उदयपुरकै रामकिशोर कुम्हारले भने, ‘दसैँ, तिहार र छठका बेला जस्तै अन्य समयमा विक्रि भएको जिविका चलाउन सजिलो हुने थियो ।’
पछिल्लो समय माटो पाउन समस्या छ ।
जताततै घर बनेकोले माटो ल्याउने ठाउँ अभाव भएको उनले गुनासो गरे । ‘भाँडा बनाउन मलिलो माटो चाहिन्छ । जताततै पाइदैन । पाइए पनि माटो ल्याउन दिँदैनन्,’ उनले भने, ‘माटो पाउन पहिले जस्तो सजिलो छैन ।’
भाँडा बनाउन प्रयोग हुने माटो उनले किन्न परेको छ । उनले प्रति टिप्पर आठ हजार रुपैँयामा किन्ने गरेको बताए । ‘पहिले माटो किन्न पर्दैनथ्यो । माटो किन्न नपर्दा भाँडा निर्माण गर्न लागत कम लाग्थ्यो । र, सस्तोमा बेच्दा पनि घाटा लाग्दैनथ्यो,’ उनले भने, ‘माटो किनेर भाँडा बनाउँदा लागत धेरै लाग्छ ।
महंगोमा बेच्न पनि पाइदैन । अहिले पहिलेको जस्तो फाइदा छैन ।’
भाँडा बनाउन मेहनत पनि धेरै लाग्छ । माटोबाट ढुंगाको कण निकालेर नरम बनाउनु पर्छ । ‘माटोलाई नरम बनाउन जालीले छान्नु पर्छ । त्यसपछि २–४ दिनसम्म खाल्डोमा भिजाइन्छ । पानी सुकेपछि निकालिन्छ । माटोलाई धेरै पटक मुछेपछि मात्रै भाँडा बनाइन्छ,’ हजारीले भने ।
त्यसो त भाँडा पकाउन धानको भुस पनि किन्नुपर्ने हुन्छ । उनले धानको भुस सात रुपैँया प्रति किलोग्रामका दरले किन्ने गरेको बताए । ‘भुस, माटो, दाउरा किन्नु पर्ने भएकोले लागत अनुसार आम्दानी हुँदैन,’ उनले गुनासो गरे, ‘प्लाष्टिकका सामग्रीको बढ्दो प्रयोगले माटोका भाँडा प्रयोगमा कमी आउँदा हाम्रो पेशा संकटमा परेको छ ।’
उनले राज्यबाट पनि कुनै सहयोग नपाएको बताए । राज्यले सहयोग गरेको भए पेशालाई जिवित बनाउन सकिने कुम्हारको भनाई छ ।
Discussion about this post