बाँके पुस ३ गते ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ३ मैटहवा नजिकै सोमवार विहान टिप्परले म्याजिकलाई ठक्कर दिँदा १३ जना घाइते भए । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कोहलपुरबाट बाँसगढी तर्फजाँदै गरेको भे १ ज ७४७ नम्बरको म्याजिक भ्यानलाई पछाडिबाट टिप्परले ठक्कर दिएको थियो । टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लियो ।
विहीबार राती कोहलपुरको मदन चोकमै गाडीको ठक्करबाट डिउटी सकेर घर जाने तयारी गरेका प्रहरी जवानको घटनास्थलमै मृत्यु भयो । अर्का एकजना गम्भीर अवस्थामा काठमाडौंमा उपचार चलिरहेको छ । बाँकेमा दैनिक जस्तो सवारी दुर्घटनाका घटना भइरहेका छन् । जसका कारण मानिसहरुले अकालमा मृत्युवरण गरिरहेका छन् । चालू आर्थिक वर्षको पाँच महिनामा भएका सवारी दुर्घटनामा २९ जनाको मृत्यु भएको तथ्यांक छ ।
जिल्ला ट्राफिक कार्यालय बाँकेका अनुसार आर्थिक वर्ष साउन, भदौ, असोज, कार्तिक र मंसिर महिनामा भएका सवारी दुर्घटनामा २९ जनाको मृत्यु भएको हो । साउनमा जिल्लाभर भएका ८ वटा सवारीसाधन दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर र ४ जना सामान्य घाइते भएका थिए। त्यसैगरी भदौमा १० सवारीसाधन दुर्घटनामा ९ जनाको मृत्यु भएको, ७ जना गम्भीर घाइते र ३७ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी बाँकेले जनाएको छ ।
त्यस्तै असोजमा ११ सवारीसाधन दुर्घटनामा ४ जनाले ज्यान गुमाएको र उक्त सवारीसाधन दुर्घटनामा ९ जना गम्भीर घाइते भए भने ७ जना सामान्य घाइते भएका हुन् । कार्तिक महिनामा २५ सवारी दुर्घटनामा ७ जनाको मृत्यु भयो भने १९ जना गम्भीर र ११ जना सामान्य घाइते भएका थिए। मंसिरमा जिल्लाभर ११ सवारी दुर्घटनामा ६ को मृत्यु हुनुको साथै ७ जना गम्भीर र २ सामान्य घाइते भएको बाँके ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै गत साउनमा ५ छाडा चौपायाको मृत्यु भयो भने १ घाइते भएको र भदौमा १ को मृत्यु र १ छाडा चौपाया घाइते भएको जिल्ला ट्राफिक प्रहरी बाँकेले जानकारी दिएको छ । तीब्र गति, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा, सवारीसाधनको बढ्दो चाप लगायतका कारणले दुर्घटनाका घटनाहरु बढ्दै गएको ट्राफिक प्रहरीको भनाइ छ ।
चालू आर्थिक वर्षको पाँच महिनामा झण्डै १ करोड रुपैयाँ राजस्व संकलन गरेको पनि ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक नियमको उल्लंघन गर्दै चलेका ११ हजार ८६८ सवारीसाधनलाई कारबाही गर्दै ९१ लाख ४८ हजार ५ सय रुपैयाँ र ८१९ चालकलाई मादक पदार्थ ( मापसे) कारबाही गर्दै ८ लाख १९ हजार रुपैयाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीले बताए ।
ट्राफिक प्रमुख सुवेदीका अनुसार गत साउनमा ट्राफिक नियम उल्लंघन गरि चलेका १७५७ सवारीसाधनलाई कारबाही गर्दै १३ लाख ६७ हजार ५ सय जरिवाना गरेको छ भने साउन महिनामै मादक पदार्थ (मापसे) सेवन गरेर चलाइएका १४४ जना चालकलाई कारबाही गर्दै १ लाख ४४ हजार रुपैयाँ राजस्व उठाएको हो। त्यस्तै भदौ महिनाभर १९६१ सवारीसाधनबाट १५ लाख ६ हजार ५ सय र मापसे कारबाहीमा १४८ चालकलाई कारबाही गर्दै १ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गरिएको हो।
ट्राफिक प्रहरीले असोज महिनामा ट्राफिक नियम विपरीत चलेकाब २६७८ सवारीसाधनबाट २० लाख ४५ हजार र मापसे कारबाहीमा १३८ चालकबाट १ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको ट्राफिक प्रमुख सुवेदीले जानकारी दिएका छन् । नियम उल्लंघन गरि कार्तिक महिनामा जिल्लाभरमा चलेका २४७६ सवारीसाधनलाई कारबाही गर्दै बाँके ट्राफिकले १८ लाख ९९ हजार रुपैयाँ र मापसे कारबाहीमा २३१ चालकबाट २ लाख ३१ हजार रुपैयाँ संकलन गरेको हो भने मंसिर मसान्तसम्म ट्राफिक प्रहरीले २९९६ सवारीसाधनबाट २३ लाख ३० हजार ५ सय र मापसे कारबाहीमा १५८ चालकबाट १ लाख ५८ हजार रुपैयाँ संकलन गर्दै साउनयता ५ महिनामा ९९ लाख ६७ हजार ५ सय रुपैयाँ राजस्व संकलन गर्न सफल बनेको सुवेदीले बताए ।
त्यसैगरी जिल्ला ट्राफिक प्रहरी बाँकेले जिल्लामाभरमा ३९ हजार ८७६ जनालाई ट्राफिक सचेतना तालिम दिएको छ। बाँके ट्राफिक प्रहरीका अनुसार गत साउन महिनामा १२१ पटकको ट्राफिक सचेतन कार्यक्रममा ६७ सय २६ जना सहभागी भएका थिए भने भदौमा १५३ पटकमा ६८ सय ५६ जना र असोज महिनाभर १८५ पटक दिएइको ट्राफिक सचेतना कार्यक्रममा ७२ सय ९० जना सहभागी भएका थिए । यस्तै कार्तिक र मंसिरमा क्रमशः २०४ पटकमा ६९ सय ८९ र २३२ पटकको सचेतना कार्यक्रममा १२ हजार २३ जना सहभागी भएको बाँके ट्राफिक प्रहरी प्रहरी सुवेदीले बताए।
Discussion about this post