बाँके पुस १३ गते ।
कोहलपुर चपरगौडीको भण्डारी टोल, जहाँ म हुर्के । हाम्रो परिवार ५५ सालमा बर्दियाबाट बसाई
सरेर आएको थियो । हामीजस्तै अरू परिवारहरू पनि दाङ, सुर्खेत, बाजुरा, सल्यान, हुम्ला, बर्दिया रकाठमाडौं लगायतका विभिन्न ठाउँहरूबाट बसाइँसराइँ गरेर आएका थिए ।
त्यो टोलमा जम्माजम्मी गरेर करिब दुई सय घरधुरी थियौँ । बाहुन, क्षत्रीहरूको बाहुल्यता रहेको टोलमा केही घर ठकुरी र थारुहरूको थियो । जम्मा एक घर दलित समुदायका बुद्दि बहादुर सार्कीको थियो । उहाँ पनि बर्दियाबाटै बसाइ सरेर आउनुभएको थियो । सायद, हामी सबै विभिन्न ठाउँहरूबाट आएकैले हुनसक्छ, आपसमा आत्मीय सम्बन्ध बिस्तार हुँदै गयो ।
अहिले त्यो जानकीनगर टोलले परिचित छ भने करिब चार सय बढि घरधुरीहरू रहेका छन् ।
यस्तै ५÷६कक्षामा पढ्थे हुँला । म सँगैकी बुद्दि बहादुर बुबाको छोरी थिइन् । उनी भर्खरै कक्षा १ मा पढ्न जाने गर्थिन् । हामी सँगै स्कूल जाने आउने गर्थ्यौँ । बाख्रा चराउन, घाँस काट्न पनि सँगसँगै जाने आउने गर्थ्यौँ । उनको घरमा मिठो खानेकुराहरू पाक्दा बासनाले तानेर लान्थ्यो । म जान्थे, आनन्दले खाएर फर्किन्थे । मसँगसँगै अरू दौतरीहरू पनि जान्थे, मैले जसरी नै खाएर फर्किन्थे ।
हामी सबै दौतरीहरू एकसाथ खेल्थ्यौँ । रमाउँथ्यौँ ।मलाई याद भएअनुसार, हामी केटाकेटीहरू मात्रै नभएर हाम्रा बा–आमाहरू पनि एकापसमा मिलेर बस्नुहुन्थ्यो । अर्मपर्म चलाउनुहुन्थ्यो । ऐँचोपैचो, सर सापट गर्नुहुन्थ्यो । पानी पधेँरो सबै साझा थियो ।
जसको घरमा पूजा राखिएपनि सबैजना सरिक हुने, उत्सब मनाउने गर्थ्यौँ ।
हामी बसाइ सरेर आएपछि सार्की बुबाले नै सबै घरहरू बनाउनुभएको थियो । उहाँ आफ्नो काममा एकदम अब्बल हुनुहुन्थ्यो । उहाँलाई सबैले ‘मिस्त्री’ बुबा, दाइ भन्ने गर्थे । माटाका गारा, काठका झ्याल ढोका, जस्तापाता, खर र टायलले छानो हालिएका घरहरू बनाइएका थिएँ ।
मलाई सानैदेखि सफा र चिटिक्कका घरहरू असाध्यै मन पर्थ्यो । हाम्रा घरहरू लिपपोत गरिएको हुन्थ्यो । टोलभरिमै सार्की बुबाको घर सानो र साह्रै आकर्षक लाग्थ्यो । एकदमै
सफासुग्घर थियो ।
उहाँको त्यो घरजस्तै हाम्रो घर पनि आकर्षक होस् भन्ने सोच्थेँ । घर आकर्षक बनाउनका
लागि मैले पनि माटो र गोबर मिसाएर घर लिप्थे। आँगन लिप्थे । बाटो समेत लिप्थे । लिपेको नसुकीकन कोही हिडेमा म रिसाउँथे । मैले लिपेको आँगन र बाटोको लिपपोतसङ्गै साँझ दर्केको पानीले सबै बिगार्थो । साह्रै चित्त दुख्थ्यो अनि रुन मन लाग्थ्यो अनि फेरि सफा चिटिक्क देखियोस भनेर लिप्ने गर्थे । घरकाले र छिमेकीले समेत
‘यसले कत्ति लिपेकी ? यसले घर लिप्यो कि पानी पर्छ’ भन्थे ।
ठ्याक्कै थाह त भएन सायद २०६१ सालतिरको कुरा हो, मिस्त्री बुबाको छोराले क्षेत्रीको छोरी भगाएर ल्याउनु भयो ।
छोरोको बिहे धुमधामसँग गर्ने मिस्त्री बुबाको ठुलो धोको रहेछ । छोराले भने केटी सुटुक्कै भगाएर ल्याएपछि बुबामा केही असन्तुष्टि छायो । तर उहाँले गाउँका सबैलाई बिहे भोज खुवाउने निधो गर्नुभयो । गाउँमा सबैको विहे, ब्रतबन्ध, पूजाआजाको निम्तो मान्दै आएको बुबालाई आफ्नो घरको तर्फबाट बिहेको भोज खुवाउने धोको पुरा गर्नु थियो ।
उहाँले दुलही भित्र्याउने, बिहेको भोज खुवाउने प्रण गर्नुभयो । अनि बिहेको तयारीमा लाग्नुभयो । तयारी चलिरहेकै एक विहान मिस्त्री बुबा हाम्रो घरमा आउनुभयो ।
मेरो बुबासँग उहाँले सहयोगको अनुरोध गर्नुभयो ।
“छोरोको बिहेको भोज हजुरको घरमा गर्नुपर्यो”,
“किन र ?”,
“मेरो घरमा सबै नआउलान् कि भोज खान !?”
“आउने जति आउँछन्, नआउने जति आउँदैनन् । किन कर गरि गरि बोलाउनू ?”
उहाँहरूले यस्तो भनेको सुनेर मलाई अचम्म लाग्यो । उहाँहरूबीचको यो संवादपछि बिहे भोजका
निमित्त पकाउने, खाने र खुवाउने बन्दोबन्द हाम्रो घरमा गरियो ।
मिस्त्री बुबाले आफ्नो घरमा धूमधामसँग बुहारी भित्र्याउनुभयो । हाम्रो घरमा सबैलाई भोज
खुवाउनुभयो । त्यो दिन मैले थाहा पाएँ, विभिन्न ठाउँहरूबाट आएर बसालेको नयाँ बस्ती, सुन्दर र आकर्षक टोल बसाल्नका निमित्त घर निर्माण गर्ने दक्ष मिस्त्री बुबाको घर ‘अछूतको घर’ मानिने रहेछ ।
किशोरअवस्था भरि मैले देख्न नसकेको छुवाछुत बल्ल वयस्क लाग्दा बल्ल मैले देख्न सकेँ ।
(सुवेदी ‘सामाजिक न्यायका लागि लेखन कार्यशाला’का सहभागी हुन्।) सरला सुवेदी
Discussion about this post