दाङ पुस १३ गते ।
माघी नजिकिएसँगै दाङका थारु बस्तीमा चहलपहल सुरु भएको छ । थारु जातिको सबैभन्दा ठुलो पर्व माघी आउनुभन्दा एक महिनाअघिदेखि तयारी भइरहेको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व मनाउने गर्दछन् । पर्वमा थारु समुदायमा गाउँका महतवा (अगुवा) को घरमा जम्मा भएर वर्षभरिको योजना बनाउँछन् ।
अहिले थारु बस्तीमा नाचगान र खानपिनको तयारी भइरहेको घोराही उपमहानगरपालिका–१७ कर्जाहीका सोमती चौधरीले बताउनुभयो । माघीको तयारीका लागि वनबाट दाउरा, पात ल्याउने काम भइसकेको उहाँले सुनाउनुभयो । “खानाका परिकार बनाउन एक महिनाअघिदेखि तयारी गर्नुपर्ने हुन्छ, त्यसैको तयारीमा लागेका छौँ”, सोमतीले भन्नुभयो, “ढिक्री, रोटी पकाउने, अनदीको विशेष झोल ९जाँड० र भातलगायत विशेष मीठा–मीठा परिकारको तयारीमा जुटेका छौँ ।” पुसमा तयारी गरेर माघे सङ्क्रान्तिका दिनदेखि चार–पाँच दिनसम्म माघी पर्व मनाउने गरेको उहाँले बताउनुभयो ।
थारु समुदायले माघमै आफ्नो मुखिया, चौकीदार, घरको मूली चुन्ने, नयाँ नियम लागू गर्ने, संशोधन गर्ने भएकाले पनि यसलाई विशेषरूपमा लिइँदै आएको घोराही–६ का भीमबहादुर चौधरी बताउनुहुन्छ । उहाँले वर्षभरिको योजना माघमा बनाइने भएकाले पनि थारु समुदायका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । थारु जातिले माघलाई नाचगान, खानपिनमा विशेष महत्त्व दिने गर्दछन् । वर्षभरि गरेका कामको समीक्षा गर्ने र आगामी कामको योजना बनाउने चौधरीको भनाइ छ । थारु समुदायका व्यक्तिले माघीको अघिल्लो दिन आगोको धुनी बालेर ताप्छन् ।
गाउँभरिका मानिस एकै ठाउँमा जम्मा भएर आगो ताप्ने र भाले बासेसँगै नदी तथा खोलामा नुहाउने गर्दछन् । नुहाएर आएपछि आफूभन्दा ठुलालाई ढोग गरी आशीर्वाद लिएर घरमा आएपछि खिचडी दान गर्ने प्रचलन छ । खिचडी पुर्खा, देवीदेवता र चेलीबेटीका लागि छुट्याइन्छ । यसरी छुट्याइएको खिचडी घरका सदस्यले खान मिल्दैन र त्यो पाहुर ९कोसेली०का रूपमा चेलीबेटीका घरमा पु¥याउने प्रचलन रहेको मतहवा सङ्घका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताउनुभयो । माघीको अघिल्लो दिन बिहानै गाउँघरका किसान जम्मा भई बङ्गुर, सुँगुर (थारु भाषामा जिता मार्ना) मारेर बराबरी बाँड्ने चलन छ ।
गँगटा, माछासँगै घोङीको विशेष परिकार बनाएर खाने गरिन्छ । माघीका अवसरमा ‘मघौटा नाच’ नाच्ने गरिन्छ । यो नाच शृङ्गार र करुण रसले भरिएको घोराही उपमहानगरपालिका–३ का मतहुँ हिमलाल चौधरीले बताउनुभयो । “थारु समुदायमा माघलाई नयाँ वर्षका रूपमा पनि लिने गरिन्छ । पुस मसान्तमा आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघको १ गतेदेखि नयाँ हिसाबकिताब सुरु गर्ने चलन छ । माघीमा घरपरिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षका लागि खेतीपातीलगायतका अन्य व्यवहारको नवीकरण गरिन्छ”, चौधरीले भन्नुभयो ।
Discussion about this post