बाँके माघ १२ गते ।
नेपाल रेडक्रस सोसाइटी बाँकेले घुम्ति बस मार्फत रगत संकलन गर्ने भएको छ । गैर आवासिय नेपाली संघ (एनआरएनए) ले लुम्बिनी प्रदेशका लागि रगत संकलन गर्ने अत्याधुनिक बस प्रदान गरेपछि रेड्क्रसले बसमार्फत रगत संकलन गर्ने भएको हो ।
एनआरएनएका अध्यक्ष डा. बद्री केसीले कार्यबहाक नगर प्रमुख कमरुद्दिन राई र रेडक्रस बाँके शाखाका सभापति गोवद्र्धन सिंह सम्झनालाई बसको साँचो हस्तान्तरण गरे । बस सेवाको नेपालगन्ज उपमहानगरपालिकाका कार्यबहाक नगर प्रमुख राई र डा. केसीले संयुक्तरुपमा शुभारम्भ गरे ।
अत्याधुनिक सेवा सुविधा सहितको वातानुकुलित बस सेवामा प्राविधिक टिम, रगत संकलन कक्ष, भण्डारणका लागि फ्रिज, आराम कक्षको समेत व्यवस्था छ । ग्रामीण इलाकामा पुगेर रगत संकलन गर्न सहजता पुगोस् भन्ने उद्देश्यले बस प्रदान गरिएको एनआरएनएका अध्यक्ष केसीले बताए । ‘गाउँ–गाउँमा गएर रगत संकलन गर्न सहयोग मिलोस् भन्ने यसको मुख्य उद्देश्य हो,’ उनले भने ।
डा.केसीले नेपालको विकास र समृद्धिका लागि एनआरएनएले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको बताउँदै लगानीमैत्री वातावरण बनाइदिन सरकारसंग आग्रह गरे ।
लुम्बिनीसहित पाँच प्रदेशमा रगत संकलन घुम्ती बस हस्तान्तरण गरिएको एनआरएनएका उपाध्यक्ष रामशरण सिंखडाले बताए । उनले केहि दिनभित्र कर्णाली र गण्डकी प्रदेशमा पनि बस हस्तान्तरण गरिने बताए ।
नेपालगन्ज उपमहानगरपालिकाका कार्यवहाक प्रमुख राईले मानविय सेवामा रेड्क्रसले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले सरकार पुग्न नसकेको ठाउँमा रेडक्रस पुगेको बताउँदै रक्त संकलन घुम्ती बस सेवाले मानविय सेवामा अर्को आयाम थपिएको धारणा राखे । उनले भने, ‘ग्रामीण क्षेत्रमा पुगेर रगत संकलन गर्न बस सेवाले सहजता ल्याउने विश्वास छ । जुन उद्देश्यले बस प्रदान गरिएको छ सोही अनुसार रेड्क्रसले प्रयोगमा ल्याउने छ भन्ने विश्वास छ ।’
Discussion about this post