बाँके चैत ११ गते ।
आज विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । दिवसको अवसरमा बाँकेमा पनि स्थानीय पालिकालेहरुले जनचेतनामुलक कार्यक्रमको आयोजना गरेको जनाएका छन् ।
बाँकेमा थप पाँच सय ३९ जना क्षयरोगीका विरामी फेला परेका स्वास्थ्यकर्मीहरु बताउँछन् ।
चालु आर्थिक वर्षको सात महिनामा जिल्लामा पाँच सय ३९ जना नयाँ क्षयरोगी थपिएको स्वास्थ्य कार्यालयका क्षय कुष्ठ फोकल पर्सन रविन्द्र कुमार शाहले जानकारी दिएका छन् । त्यसमध्ये सबैभन्दा बढी क्षयरोगी नेपालगन्ज उपमहानगरपालिका क्षेत्रकै रहेका छन् । नेपालगन्जमा एक सय ६३ नयाँ क्षयरोगी पत्ता लागेको क्षयकुष्ठ फोकल पर्सन शाहले जानकारी दिए । जिल्लामा सबैभन्दा कम क्षयरोग नरैनापुरमा पत्ता लागेका छन् ।
नरैनापुरमा २६ जना क्षयरोगी पत्ता लागेका हुन् । चालु आर्थिक वर्षमा क्षयरोग पुष्टि भएका मध्ये छ जना एचआइभी पोजेटिभ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा बाँकेमा एक हजार एक सय दुई जना क्षयरोगी रहेका थिए । जसमध्ये नेपालगन्जमा सबैभन्दा बढी ती सय ३५ र नरैनापुरमा सबैभन्दा कम ७१ क्षयरोगी पत्ता लागेका थिए ।
क्षयरोगी मध्ये पाँच जनामा एचआइभी पोजेटिभ समेत रहेको थियो । स्वास्थ्य कार्यालय बाँकेका क्षयकुष्ठ अधिकृत शाह क्षयरोग नियन्त्रणका लागि जनचेतना र परीक्षण आवश्यक रहेको बताउँछन् । ‘क्षयरोगबारे सचेत बनाउन सकियो भने नियन्त्रणमा लिन सहज हुन्छ’, उनको भनाइ छ ।
शाह क्षयरोगको पहिचान, उपचार र निधानका लागि परीक्षण बढाउँदै लग्नु पर्ने बताउँछन् । नेपालमा पछिल्लो पटक ३७ हजार चार ४७ जनामा क्षयरोग देखिएको छ । क्षयरोग अन्त्यको लागि देशव्यापी रूपमा ‘क्षयरोग मुक्त नेपाल अभियान’ सुरुवात भएको छ ।
Discussion about this post