बाँके चैत २६ गते ।
नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालयले आफ्नो मातहतमा रहेका छ जिल्लाका १० वितरण केन्द्रमार्फत लाइन वितरण गरिएका स्थानीय तह अन्तर्गतका महसुल तिर्न बाँकी सडकबत्तीको लाइन काट्न सुरु गरेको छ ।
लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख ईन्जिनियर राजीव सिंहले स्थानीय तह अन्तर्गतका विद्युत् महसुल बुझाउन बाँकी रहेका सडकबत्तीको लाइन धमाधम काट्न सुरु गरिएको बताए । उनका अनुसार छ जिल्लाका स्थानीय तहबाट सडकबत्ती बालेबापतको २६ करोड ९९ लाख २८ हजार ८९० रुपियाँ बक्यौता रकम उठ्न बाँकी छ ।
“स्थानीय तह अन्तर्गतका सडकबत्तीबाट विद्युत् उपभोग गरेबापतको महसुल रकम नबुझाइएका सडकबत्तीको लाइन धमाधम काटिरहेका छौँ,” उनले भने, “सडकबत्तीको महसुल रकम बुझाउन बाँकी रहेका स्थानीय तहहरूलाई सार्वजनिक सूचनामार्फत महसुल बुझाउन जानकारी गराएका थियौँ, जानकारी पाएर पनि महसुल नबुझाउने स्थानीय तहहरूको सडकबत्तीको लाइन काटिरहेका छौँ ।” सडकबत्तीको व्यवस्थित उपयोग गर्ने र सोको महसुल भुक्तानी गर्ने सम्बन्धमा सार्वजनिक सूचना जारी गरी सबै स्थानीय तहलाई अनुरोध गरिएको उहाँले जानकारी दिए ।
केही स्थानीय तहबाट सडकबत्तीको बक्यौता महसुल समर्थन गरी भुक्तानी गर्ने प्रतिबद्धता प्राप्त भएको र केहीबाट भुक्तानीसमेत प्राप्त भएको उहाँले बताए । कतिपय स्थानीय तहबाट सो अनुरूप कार्य नभएको हुँदा त्यस्ता स्थानीय तहमा रहेका सडकबत्तीको विद्युत् लाइन काट्ने क्रम जारी छ । सबै स्थानीय तहमा समर्थन गर्नुपर्ने रकमसहित पत्राचारसमेत गरिएको उनले बताए ।
Discussion about this post