बाँके बैशाख ५ गते ।
बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियास्थित जयेन्दु बाल सुधारगृहका बालबन्दीहरुमा छालासम्बन्धी रोगको समस्या देखिएको छ । उनीहरूले उपचारका लागि औषधि नपाएको गुनासो गरेका छन् । एड्भोकेसी फोरम लुम्बिनी प्रदेशका संयोजक अधिवक्ता वसन्त गौतमले उक्त बाल सुधारगृहमा रहेका अधिकांश बाल बन्दीमा छालासम्बन्धी रोगको समस्या रहेको पाइएको बताए ।
सुधारगृहमा रहेकामध्ये आधा जसोमा छालासम्बन्धी लुतो, दादलगायतको समस्या देखिएको बताए । उपभोक्ता हित संरक्षण मञ्च बाँकेको अध्यक्षसमेत रहनुभएका अधिवक्ता गौतमले सोमबार उक्त सुधारगृहमा अनुगमनमा जाँदा उक्त समस्या देखिएको जानकारी दिए । उनले भेरी अस्पतालबाट प्रत्येक महिनाको दोस्रो शुक्रवार बालबन्दीको स्वास्थ्य चेकजाँच गर्न चिकित्सकको टोली जाने गरे पनि उपचारका लागि औषधि भने नदिने गरेको बालबन्दीहरुको गुनासो गरेको बताए ।
“जयेन्दु बाल सुधार गृहमा रहेका बालबन्दीहरुलाई निःशुल्क स्वास्थ्य उपचार गर्नका लागि भेरी अस्पताल नेपालगन्जले सम्झौता गरेको छ, सम्झौतामा प्रत्येक महिनाको दोस्रो हप्ताको शुक्रवार जनरल फिजिसियन, बाल चिकित्सक तथा मनोचिकित्सकसहितको विशेषज्ञ टोलीबाट निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार गर्ने उल्लेख गरिएको छ ” उनले भने, “तर अधिकांश बालबन्दीहरुले औषधि नै नपाएको गुनासो गरेका छन् ।”
जयेन्दु बाल सुधारगृहमा हाल २ सय ४८ जना बालबन्दी छन् । २ सय ४८ जना बालबन्दीलाई ५ वटा ठूला हलकोठामा राखिएको अधिवक्ता गौतमले बताए । “बालबन्दीलाई ५ वटा ठूला हलकोठामा राखिएको रहेछ, हरेक कोठामा २८ देखि ८० जनासम्म राखिएको छ, सामूहिक बसाइ हुँदा एउटामा रहेको रोग अर्कोमा तुरुन्तै सर्ने देखिन्छ, छाला रोग सर्ने पनि भएको हुँदा अधिकांश यस रोगबाट पीडित भएको पाइयो” उनले भने । जयेन्दु बालसुधार गृहका प्रमुख विमला काउचामगरले पछिल्लो समयमा बालबन्दीहरुमा छालासम्बन्धी रोग धेरै पाइएको बताइन् ।
Discussion about this post