बाँके जेठ ११ गते ।
थारु समुदायमा बाल विवाह न्यूनिकरण अभियानलाई प्रभावकारी बनाउन बरघरहरुसंग साझेदारी गरेर अगाडी बढ्नुपर्नेमा बिशेष जोड दिईएको छ ।
थारु आयोगले नेपालगन्जमा प्लान इन्टरनेशल नेपालसँगको सहकार्यमा आयोजना गरेको ‘बाल विवाह न्यूनीकरणमा बरघरको भूमिका विषयक’ प्रादेशिक गोष्ठीमा सहभागि बाँके, बर्दिया, सुर्खेत र दाङका बरघर थारु लगायतले समुदायमा व्याप्त रहेको बालविवाह, भागी विवाह, चाँडो विवाह अन्त्यका लागि बरघरको भुमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे ।
उनीहरूले बालविवाह न्यूनीकरण गर्नका लागि बनेका ऐन, कानुनहरू प्रभावकारी नहुँदा समाजका कुसंस्कार, कुरीतिको रूपमा रहेको बालविवाहको अन्त्य हुन नसकेको औल्याए । कार्यक्रममा आफ्ना धारणा राख्दै थारु आयोगका अध्यक्ष बिष्णु प्रसाद चौधरीले बाल विवाह न्यूनीकरण गर्न बरघर ऐन आवश्यक रहेको बताए । थारु समुदायमा व्याप्त रहेको बालविवाह, चाँडै हुने विवाहको अन्त्यका लागि बरघरको भुमिका अत्यन्त महत्वपूर्ण हुने भन्दै अध्यक्ष चौधरीले बरघर ऐन पारित गरेर बाल विवाह न्यूनीकरण गर्न भूमिका खेल्न स्थानीय निकायहरूसँग आग्रह गरे ।
आयोगका अध्यक्ष चौधरीले देशका अन्य भागको तुलनामा थारु समुदायमा चुनौती बनेको बालविवाह र दाइजो प्रथा जस्ता सामाजिक विकृति अन्त्य गर्न सबैले सामूहिक रूपमा लाग्न जरुरी रहेको बताए । बालविवाहको कारण वैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउँदा स्वास्थ्यसम्बन्धी समस्या देखिने, लैङ्गिकहिंसा, यौनजन्यहिंसा, बालश्रम, बेचबिखन जस्ता हिंसाले बालिका थप पीडामा पर्ने गरेको अध्यक्ष चौधरीले बताए ।
थारु आयोगका सदस्य सुबोध सिंह थारुले बालविवाह अन्त्यका लागि थारु आयोगले हरप्रकारको सहयोग गर्ने बताए । राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा थारुले धार्मिक सोंच र अन्धविश्वासले छोरी चेलीको विवाह छिटो गरिदिने समाजको चरित्र औल्याउँदै थारु समाजमा छोरीको शिक्षामा लगानी गर्न नखोज्नुको पछाडि धार्मिक तथा सामाजिक कारण रहेको बताइन् ।
कार्यक्रमा बाँके युनेस्को क्लबका निमित्त कार्यकारी निर्देशक महेश नेपालीले लुम्बिनी प्रदेशमा बाल विवाह, उमेर नपुगी र जबरजस्ती गरिने विवाहको अवस्था बारे प्रस्तुती गर्दै २४.४ प्रतिशतले पहिलो बिवाह १५ देखि १७ बर्षको उमेरमा गर्ने गरेको, ७.४ प्रतिशतको पहिलो बिवाह १० देखि १४ को उमेर समुहमा हुने गरेको, ०।४ प्रतिशत बालबालिकाहरुको १० बर्षभन्दा कम उमेरमा बिवाह हुने गरेको तथा ३६.२ प्रतिशतको बिवाह १८ देखि २० बर्षको उमेरमा हुने गरेको तथ्यांक प्रस्तुत गरे ।
सो कार्यक्रममा थारु कल्याणकारी बाँकेका सभापति बिनोद थारु, बेसका केन्द्रीय सदस्य संगीता थारु लगायतले पनि आफ्नो धारणा राखेका थिए ।
Discussion about this post