काठमाडौं जेठ १९ गते ।
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुनगेरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको हो । निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ र डिजेलको मूल्य प्रतिलिटर २.४५ ले घटेर आएको छ ।
तर, नेपाल सरकारले बजेटमार्फत जेठ १६ गतेबाटै लागु हुनेगरी पेट्रोल र डिजेलमा प्रतिलिटर एक रुपैयाँका दरले ुहरित करु लगाएकाले त्यसैअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६५.५० रुपैयाँ र डिजेलको मूल्य १५०.५० रुपैयाँ कायम भएको छ ।
दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेलको मूल्य १५२ रुपैयाँ कायम भएको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६८ र डिजेलको मूल्य १५३ रुपैयाँ कायम भएको छ । हवाई इन्धन र खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।
Discussion about this post