बाँके जेठ २३ गते ।
बाँकेको राप्ती सोनारी गाउँपालिकामा युएसएआइडी एग्रिकलचर इनपुट्स परियोजना संचालन हुन लागेको छ । युएसएआइडीको सहयोगमा लुम्विनी, कर्णाली, सुदूरपश्चिम, बाग्मती र मधेश प्रदेशका १६ जिल्लाका विभिन्न पालिकाहरुमा यो परिजना संचालन हुन लागेको हो ।
परियोजना अन्तर्गत् राप्ती सोनारी गाउँपालिका र युएसएआइडी एग्रिकलचर इनपुट्सबीच मंगलवार पालिकामा रणनीतिक योजनाबारे छलफल गरिएको छ । परियोजना संचालनपछि कृषि क्षेत्रको उर्वरभूमिका रुपमा लिइने राप्ती सोनारी गाउँपालिकामा वीउवीउजन, मल, सिंचाइँ तथा कृषि यान्त्रिकीकरणमा फड्को मार्ने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष तप्प बहादुर पौडेलले बताए ।
पालिकाका किसानलाई आवश्यक पर्ने कृषि सामाग्री र त्यसको व्यवस्थापनका लागि परियोजनाले गर्न सक्ने पहलका बारेमा छलफल भएको पनि उनले बताए । उनले कृषि क्षेत्रको समग्र विकासका लागि लगानीअनुसारको उत्पादन र बजारीकरण जरुरी रहेको औल्याए । उनले लगानी अनुसार प्रतिफल प्राप्त गर्ने अवस्था बन्यो भने किसानहरु कृषि पेशामा आकर्षित हुने पनि उल्लेख गरे ।
उनले पालिकाले कृषिलाई प्रविधिमैत्री बनाउँदै लगिएको जानकारी दिँदै परियोजना संचालनपछि त्यसले थप सहजता ल्याउने बताए । दातृ निकायसँगको सहकार्यले कृषि क्षेत्रको वृह्त्तर विकासमा टेवा पुग्ने पनि उनको भनाइ थियो । राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले राप्ती सोनारी कृषि क्षेत्रको ठूलो सम्भावना बोकेका पालिका रहेको भन्दै समयमै मल, वीउविजन तथा सिंचाइँको राम्रो सुविधा हुने हो भने किसानहरुलाई कृषि पेशामा आत्मनिर्भर गराउन सकिने बताइन् ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर एडीले पनि राप्ती सोनारीको कृषि क्षेत्रको विकासका लागि नीतिगत रुपमा पहल भइरहेको जानकारी दिए । परियोजनाले कृषि सामाग्रीको बजार प्रणालीमा महिला, युवा र सीमान्कृत समुदायको समावेशीकरणका लागि सहजीकरण गर्ने, कृषि सामाग्री बजार प्रणाली र निजी क्षेत्रको अनुकूलता बढाउनेलगायतका काममा सहयोग गर्नेछ ।
Discussion about this post