रुकुम जेठ २७ गते ।
रुकुमपूर्वमा एकीकृत प्रशासनिक भवन बन्दै छ । साबिक रुकुम जिल्लालाई विसं २०७४ मा रुकुमपूर्व र रुकुमपश्चिम गरी दुई भागमा विभाजन गरेपछि रुकुमपूर्वमा हालसम्म पनि कुनै पनि नयाँ प्रशासनिक भवन निर्माण गरिएको छैन ।
जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय साबिकको इलाका भवनबाट सेवा प्रवाह गरिरहेका छन् भने अन्य जिल्लास्तरीय कार्यालय सबै भाडाको घरबाट सञ्चालन भइरहेका छन् । रुकुमपूर्वमा प्रशासनिक कामकाजका लागि २०७४ साल असोज १९ गते रुकुमकोटमा अस्थायी सदरमुकामको उद्घाटन गरिएको थियो । त्यसपछि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ साल माघ ११ गते पुथाउत्तरगङ्गा गाउँपालिका–१२, गोलखाडामा सदरमुकाम तोक्ने निर्णय गरेको थियो ।
उक्त निर्णयविरुद्ध सर्वाेच्च अदालतमा २०७४ साल माघ १७ गते मुद्दा परेको थियो । उक्त मुद्दा करिब छ वर्षसम्म सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन भयो । २०८० को भदौ २७ गतेको संवैधानिक इजलासले तत्कालीन सरकारको रुकुमपूर्वको सदरमुकाम गोलखाडा तोक्ने निर्णय खारेज गर्दै परमादेश जारी गरेको थियो । इजलासले मापदण्ड अनुसार जिल्लाको सदरमुकाम तोक्नु भन्ने आदेश गरेको थियो तर अझै पनि सरकारले स्थायी सदरमुकाम तोक्न सकेको छैन । अहिले रुकुमकोटबाटै प्रशासनिक कामकाज भइरहेको छ ।
नयाँ जिल्ला भएसँगै जिल्ला सदरमुकाम विवादमा परेपछि हालसम्म पनि जिल्लाको प्रशासनिक भवन निर्माण कार्य अन्योलमै छ । हाल सदरमुकाम रहेको रुकुमकोटमा जिल्लास्तरीय सरकारी कार्यालय बस्ने भवन नहुँदा सास्ती भइरहेको छ । उक्त समस्यालाई मध्यनजर गरी यही जेठ महिनाबाट सिस्ने गाउँपालिका–५, रुकुमकोटस्थित छिप्रिदहमा रहेको जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय रहेको परिसरमा एकीकृत भवन निर्माण कार्य सुरु गरिएको छ ।
एकीकृत प्रशासनिक भवनको सोमबार प्रतिनिधि सभाका सदस्य पूर्णबहादुर घर्तीमगरले शिलान्यास गरेका छन् । एकीकृत भवनबाट जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयलगायत कम्तीमा छ वटा कार्यालय सञ्चालन गर्ने अनुमान गरिएको छ । डेढ वर्षमा सम्पन्न गर्ने गरी निर्माण प्रारम्भ गरिएको जिसस प्रमुख मेघबहादुर श्रेष्ठले बताए ।
सघन सहरी तथा भवन निर्माण आयोजना दाङमार्फत सन्स एन्ड सन्स÷मङ्गल जेभी काठमाडौँले २०८१ साल वैशाख १४ गते सम्झौता गरेकोमा २०८२ साल कात्तिक १३ गतेभित्र काम सम्पन्न गर्ने गरी काम भइरहेको प्रमुख श्रेष्ठले जानकारी दिए । १४ करोड ३२ लाख १४ हजार दुई सय ५७ रुपियाँ १८ पैसा लागतमा भवन निर्माण हुन थालेको उनले बताए । अङ्ग्रेजी अक्षर ‘एल’ आकारमा निर्माण हुन थालेको चार तलाको भवन ५० कोठा आसपासको हुने बताइएको छ । साढे १० रोपनी जग्गा परिसरमा एकीकृत प्रशासनिक भवन बन्न थालेको हो ।
Discussion about this post