बाँके जेठ ३२ गते ।
बाँकेस्थित राप्ती नदीको आसपासका स्थानीयहरूले हरेक वर्षको वर्षायाममा नदीमा आउने बाढीका कारण जग्गा कटान हुने र डुबानको समस्या भोग्ने नियति जस्तै बनेको छ ।
हरेक वर्षको बाढीले स्थानीयको जग्गा कटान गरी बगरमा परिणत गर्ने र डुबाउने उनीहरूका लागि नियति जस्तो नै बन्ने गरेको छ । सम्बन्धित सरोकारवाला निकायबाट यो समस्याको समाधानका लागि पहल गर्छन् कि भन्ने आशासमेत उनीहरूमा मरिसकेको छ । “विगतदेखि नै हामीले हरेक वर्ष यो नियति भोग्दै आएका छौँ, हरेक वर्षको बाढीले हाम्रो हजारौँ भन्दा बढी बिघा जग्गा काटेर बगर बनाइसकेको छ, हाम्रो जग्गामा अहिले राप्ती नदी बगिरहेको छ ।” राप्तीसोनारी गाउँपालिका ६ जोरैयाका स्थानीय भक्तिराम पाण्डेले भने, “नेता र सरकारका प्रतिनिधिहरूलाई कति भन्यौँ, भन्यौँ ।
तर हाम्रो समस्याका बारेमा कसैले सुनुवाइ गरेन, अब त आशा पनि लाग्दैन ।” गत सालको बाढीले आफ्नो एक बिघा जग्गा काटेर लगेको पाण्डेले बताए । उनले बाँकी बाँचेको एक बिघा जग्गाको ढिकैबाट नदी हिँडिरहेको र यो वर्ष पक्कै यो पनि काटेर लैजाने अनुमान गरेको सुनाए । “खेतीयोग्य एक बिघा जग्गा गत साल काट्यो, अहिले नदी यही जग्गाको ढिकबाटै हिँडिरहेको छ, यो वर्ष यो पनि पक्कै लैजान्छ” उनले भने, “कुनै रोकथाम नै छैन, रोकथामका लागि तटबन्ध बनाएर जमिन काट्नबाट बचाइदिन भनेर नेताहरूसँग धेरै हारगुहार गर्यौं, कसैले ध्यान दिएनन्, कमसेकम तीन खेती लाग्ने जग्गामा एक खेतीसम्म गर्न पाए पनि केही राहत हुने थियो, कति बेला बाढीले बाँचेको जग्गा पनि लैजान्छ भनेर हेर्नुको विकल्प छैन ।” पाण्डेले नदी पूर्वतिर बढ्दै आएको र आफूलगायत गाउँलेहरूको जग्गा काटेर पश्चिम नदी पारी डुडुवा गाउँपालिकातिर पारिदिएको दुखेसो पोखे ।
उनले स्थानीयको हजारौँ बिघा जमिन नदीपारि डुडुवा गाउँपालिकातिर पारेर बगर बनाइदिएको र अहिले राप्ती नदी आफूहरूकै जग्गाबाट बगिरहेको भन्दै नदी बगिरहेको ठाउँको पनि तिरो तिरिरहेको बताए । अर्का स्थानीय जयराम थारुले गत सालको बाढीले दुई बिघा तीन कट्ठा जग्गा काटेको जानकारी दिए । उनले लगाएको धान बालीसहित बाढीले उक्त जग्गा बगाएको बताए । “वर्षा सुरु हुँदा मन भक्कानिएर आउँछ, बाढी उर्लेर आउँछ आफ्नै अगाडी आफ्नो खेत काटेर लगेर हेर्नु सिवाय अरू केही गर्न सक्दैनौँ, न क्षतिपूर्ति पायौँ, न त हाम्रो समस्याको समाधान नै भएको छ” उनले भने ।
थारुले नदीको छेउमा रहेको बाँकी बाँचेको अलि अलि जग्गा पनि अहिले बाढीले लैजाने बताए । “बाढी छेकबार र रोकथामका लागि कति भन्यौँ भन्यौँ, भन्दा भन्दा थाकिसक्यौँ, अब त भन्न पनि लाज लागेर आउँछ, जति बाँचेको जग्गा छ त्यो पनि पक्कै लैजान्छ नै, सबै जग्गा लग्यो भने, कि आत्महत्या गर्ने दिन आउँछ, कि त भने काला पहाड जानुपर्ने हुन्छ” थारुले पीडा पोखे । नामबहादुर रानाले गत सालको बाढीले आफ्नो एक बिघा तीन कट्ठा जग्गा काटेर पारी डुडुवा गाउँपालिकातिर पारेर बगर बनाइदिएको बताए ।
“बाँचेको ६–७ कट्ठा जग्गालाई सुरक्षित गरिदिए हुने थियो, जाने जग्गा गए पनि अलिअलि बाँचेको जग्गामा खेती गरेर कमसेकम ६ महिनालाई खान पुग्ने उत्पादन त गर्न सकिन्थ्यो, ६ महिना ऋण धन गरेरै भए पनि पेट पाल्थे” रानाले भने, “अरू नोकरी चाकरी केही छैन, यही जग्गाबाट उब्जाएर परिवारको पेट पाल्ने हो, जग्गै नबचेपछि के गरी खाने ? युवा जति सबै बाहिर छन्, अब त हामी बुढाहरू पनि चौकीदार गर्न भारततिर जानुपर्ने दिन आयो ।” खल्लाटेपरी टोल विकास संस्थाका अध्यक्ष अमरबहादुर बुढाले पनि खल्लाटेपरीबाट हरेक वर्ष राप्ती नदीको बाढीले स्थानीयको जग्गा कटान गर्ने र डुबानमा पार्ने समस्या रहेको बताए ।
२०६३, ०७१ र ०७४ सालमा आएको ठुलो बाढीले ती बस्तीहरूमा ठुलो नोक्सानी पुर्याएको थियो । हरेक वर्ष वर्षाको समयमा आउने बाढीले उक्त क्षेत्रका स्थानीयका हजारौँ बिघा खेत नियमित कटान गर्ने गरिरहेको छ । कटानबाट जोगाउनका लागि स्थानीयहरूले दीर्घकालीन रुपमा रोकथाम हुनुपर्ने उपाय खोज्नुपर्ने भनिरहँदा सरकारबाट आशा हराइसकेको बताएका छन् ।
Discussion about this post