बाँके साउन २५ गते ।
हरेक वर्षजस्तै यसवर्ष पनि मलको संकट व्यहोरिरहेका छन् किसानहरु । सहकारीमा चार पाँच दिनसम्म ठेलमठेल गरेर लाइन लागेपनि मल नपाउने अवस्था रहेको छ । किसानलाई परेको यो संकटको बेला खजुरास्थित एक सहकारीले किसानलाई थप झन्झट थपिरहेको पाइएको छ ।
बाँकेको खजुरास्थित सहकारी संस्था लिमिटेडले किसानहरुलाई मलको संकट परेका बेला एक बोरा मल किन्दा एउटा साबुन पनि किन्नुपर्ने नियम लगाएको पाइएको छ ।सहकारीबाट मल किनेका किसानहरुले आफूहरुलाई भिडाएको साबुन देखाए । एक बोरा मलको मूल्य नौ सय ८५ भएपनि आफूहरुसँग साबुनको समेत जोडेर एक हजार तीस रुपैयाँ सहकारीले लगेको किसानहरुले बताए । तर, त्यसको बिल हेर्न खोज्दा किसानहरुले सहकारीले बिल आफूहरुलाई नदिएको खुलासा गरे ।
सहकारीका अध्यक्ष निर्मल खनालले पनि आफूहरुले मलसँगै साबुन पनि बिक्री गरेको र बिल पनि भिडभाड बढी भएकोले दिन नसकेको स्वीकार गरे । उनले साबुन किन्न बाध्य नबनाएको जिकिर गरे । तर किसानहरुले साबुन नलिने भए मल पनि नदिने भनिएको दावी गरेका छन् । सहकारीमा मल किन्न लाइनमा लागेका किसानहरुले आफूहरु चार पाँच दिनदेखि लाइनमा लागेपनि मल नपाएको बताए । आएकै दिन नाम दर्ता गरेर मल दिएको भए आफूले तीन दिनसम्म दुःख गर्नुपर्ने अवस्था नआउने उनीहरुको भनाइ छ ।
तर, सहकारीले नाम दर्ता नगरी पहुँच भएका र सहकारीका शेयर सदस्यहरुलाई चाहेजति मल दिइरहेको र आफूहरुलाई एक बोरा मल पनि नदिएको किसानहरुले गुनासो गरे । सरकारले अनुदानित रासायनिक मल बिक्रीका लागि सहकारीलाई मात्रै जिम्मा दिने गरेको छ । बजारमा सरकारको अनुदानको मल किन्न पाइँदैन ।
यसकारण किसानहरुले सहकारीबाट मलका लागि सहकारीमा लाइन लाग्नुको विकल्प छैन । भारतमा सस्तोमा मल पाइने भएपनि सुरक्षाकर्मीहरुले भारतबाट मल ल्याउने किसानलाई तस्करी गरेको भन्दै समात्ने गरेको छ । सहकारीका अध्यक्ष खनालले नाम लिस्ट तयार गरेर मल वितरण गर्दा झन् भद्रगोल हुने तर्क गरे । मल पर्याप्त नरहेको र माग धेरै भएकोले किसानहरुको लाइन बढेको उनले बताए ।
सहकारीमा चारदिनसम्म दैनिक आएर लाइन लागेपनि बुधबारसम्म पनि मल नपाएपछि घर फर्किँदै गरेको अवस्थामा भेटिए, खजुराका किसान लक्षिराम पासी । उनले अनुहारमा मल नपाउनुको पीडा झल्किरहेको थियो । उनले भने, बिहान अँध्यारैमा आएर लाइन लागेँ । पछि त गर्मी भयो । केही बुढा मान्छेहरु लाइन लागेकै अवस्थामा बेहोस भएर ढले । अब त म पनि लाइन लाग्न सक्दिन भनेर आराम गर्न बसेँ । पछि फेरि लागौँ भने लाक्ष्न लाग्ने ठावैँ पाइन । त्यसैले घरतिर हिँडेको ।
Discussion about this post