बाँके भदौ १ गते ।
बाँकेमा गर्भवती र सुत्केरी आमाको मृत्यु दर उच्च रहेको पाइएको छ । राज्यले आमा सुरक्षाका लागि कार्यक्रमहरू ल्याएपनि बाँकेमा आमाको मृत्युमा भने खासै कमी आएको पाइँदैन । बाँकेमा विभिन्न जिल्लाबाट स्वास्थ्य गम्भीर भइसकेपछि आउने गर्भवतिहरूको समेत मृत्यु भएको पाइन्छ ।
स्वास्थ्य कार्यालय बाँकेको तथ्यांक अनुसार, गत तीन आवमा जिल्लामा बाँकेका मात्रै ६० जना गर्भवति, सुत्केरीको मृत्यु भएको छ । ‘आमाको मृत्युको तथ्यांक चिन्ताजनक छ’, स्वास्थ्य कार्यालय बाँकेकी पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठले भनिन्, ‘त्यसको न्यूनीकरणमा गर्भवतिको पोषण, स्वास्थ्य जाँच र आवश्यक उपचारका लागि सचेतनामा धेरै काम गर्नुपर्ने आवश्यक देखिन्छ ।’ स्वास्थ्य कार्यालय बाँकेकी पब्लिक हेल्थ नर्स श्रेष्ठका अनुसार, चालु आर्थिक बर्षको साउनमा एक महिलाको मृत्यु भईसकेको छ ।
आर्थिक बर्ष २०८०÷८१ मा १८, आर्थिक बर्ष २०७९÷०८० मा २० जना र आर्थिक बर्ष २०७८÷७९ मा २२ जना गर्भवति, सुत्केरी आमाको मृत्यु भएको श्रेष्ठले जानकारी दिइन् । बाँकेमा गत आर्थिक बर्षमा सबैभन्दा बढी स्वास्थ्य संस्थाको पहुँचमा रहेको नेपालगञ्जकै गर्भवति, सुत्केरीको मृत्यु भएको तथ्यांकमा देखिएको छ ।
गत आर्थिक बर्षमा मृत्यु भएका १८ जनामध्ये नेपालगञ्ज उपमहानगरपालिका ७, खजुरा गाउँपालिकाका २, डुडुवा गाउँपालिकाका २, नरैनापुर गाउँपालिका ३, राप्तीसोनारी गाउँपालिकाका २ र बैजनाथ तथा कोहलपुरका १÷१ जना रहेका छन् ।
बाँके भारतसँग जोडिएको सीमावर्ती जिल्ला भएकाले कतिपयको गर्भवति भारत रहँदा वा उपचारका लागि गएका बेला समेत मृत्यु भएको हुनसक्ने सम्भावना स्वास्थ्यकर्मी औंल्याउँछन् । बाँकेमा गत आवमा मृत्यु भएका १८ मध्ये १६ जना मधेसी र मुस्लिम समुदायका रहेको स्वास्थ्य कार्यालय बाँकेकी पब्लिक हेल्थ नर्स श्रेष्ठ बताउँछिन् ।
Discussion about this post