बर्दिया भदौ १४ गते ।
बर्दियामा पछिल्लो समय पाटे बाघ लगायतका वन्यजन्तुहरूको सङ्ख्या बढ्दै गएको छ । निकुञ्जसँग जोडिएका सामुदायिक वन र खाता जैविक मार्ग क्षेत्रमा बाघको प्रवेश बढेको छ । बाघ बर्दिया निकुञ्जको पहिलो आकर्षक वन्यजन्तु भएको छ । निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वन तथा जैविक मार्ग क्षेत्रका वनबाट आएका बँदेल, निलगाई र बाँदरले किसानको अन्नबाली वर्षेनि नष्ट गरिरहेका छन् ।
बाघ र चितुवाले हरेक वर्ष घरपालुवा पशुचौपाया खाने र जङ्गली हात्तीले घरगोठ भत्काउने, अन्नबाली क्षति गर्ने क्रम पनि उस्तै छ । यी वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति पनि बढेको छ । आक्रोशित स्थानीयवासीले बाघ र जङ्गली हात्ती मारेका घटना पनि त्यत्तिकै छन् ।
पारिस्थितिकीय प्रणालीमा महत्त्वपूर्ण मानिएको विश्वकै दुर्लभ वन्यजन्तु बाघ र मानवबीचको द्वन्द्वले संरक्षण क्षेत्रमा विभिन्न प्रश्न उठ्न थालेका छन् । बाघ संरक्षण र व्यवस्थापनमा नयाँ नयाँ चुनौतीहरू थपिँदै छन् ।सन् २०१० देखि २०२२ बीचमा नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्दै पाटे बाघको सङ्ख्या दोब्बर बनायो । सन् २०२२ को गणनाअनुसार बाघको सङ्ख्या ३ सय ५५ पुगेको छ । जबकि सन् २००९ को गणनामा यसको सङ्ख्या १ सय २१ वटा मात्र थियो । सन् १९९५ को पहिलो गणनामा नेपालमा ९८ वटा मात्रै बाघ थिए ।
यसको सङ्ख्या बढाउन सरकार, समुदाय, विभिन्न साझेदार संस्था र संरक्षणकर्मीहरूले अनेक प्रयास गरे । बर्दियामा पाटे बाघको सङ्ख्या बढेर १ सय २५ पुगेसँगै ५ वर्षयता बाघको आक्रमणका घटनाहरू पनि बढेका छन् । यस अवधिमा बाघको आक्रमणबाट ३३ जना र जङ्गली हात्तीको आक्रमणबाट ११ जनाको ज्यान गएको छ ।विशेषगरी कोरोना महामारी रोकथामका लागि देशभर लकडाउन भएपछि सामुदायिक वनमा मानिसको चहलपहल रोकियो ।
निकुञ्जभित्र पर्ने राजमार्ग क्षेत्रमा यातायातका साधन ओहोरदोहोर शून्य प्रायः भयो । ती राजमार्गमा दिनहुँ बाघ देखिए । लकडाउन खुकुलो भएसँगै सामुदायिक वनभित्र मानिसको चहलपहल बढ्यो र निकुञ्जभित्र पर्ने पूर्व–पश्चिम राजमार्गमा गाडी गुड्न थालेपछि बाघ आक्रमणका घटनाहरू बढ्न थालेका हुन् । निकुञ्जभित्र पर्ने पूर्व–पश्चिम राजमार्ग र हुलाकी सडकमा वन्यजन्तुमैत्री संरचना आवश्यक छ । वन्यजन्तु र मानिसका लागि अण्डरपास वा ओभरपासजस्ता सडक संरचना निर्माणमा जोड दिन थालिएको छ ।
निकुञ्ज, मध्यवर्ती क्षेत्रका राष्ट्रिय र सामुदायिक वन छेउछाउमा दिगो व्यवस्थापनका लागि तारबार लगाउनुपर्ने, वन्यजन्तु ओहोरदोहोर हुने सडक (करिडोर) क्षेत्रमा वन्यजन्तुमैत्री संरचना बनाउनुपर्ने र निकुञ्जभित्र पर्ने राजमार्गको दायाँबायाँको झाडी सफाइ गर्नुपर्ने माग उठिरहेको छ । निकुञ्ज तथा सामुदायिक वनमा निर्भर विपन्न समुदायका लागि विशेष कार्यक्रम ल्याई वनभित्र नजाने वातावरण वनाउन र सामुदायिक वनभित्रको झाडी सफा गर्नुपर्ने संरक्षणकर्मीहरूको जोड छ ।
‘बर्दियाको मधुवन नगरपालिका वडा नम्बर १, २, ३, ४ र ५ का झन्डै ५ हजार घरधुरीको दैनिकी डर र त्रासमा छ । निकुञ्ज आसपासका बासिन्दा सधैं बाघ र हात्तीकै त्रासमा हुन्छन् । घाँस, दाउराका लागि जङ्गलमा जान्छन् ।
जङ्गलभित्र जानेबित्तिकै बाघ, हात्ती र चितुवाले आक्रमण गरिहाल्छन’ खाता सामुदायिक वन समन्वय समिति बर्दियाका अध्यक्ष हरि गुरुङले भने, ‘वनजङ्गलमा जाँदा मात्रै होइन, घरआँगनमै पनि बाघ, हात्ती र चितुवा आउँछन् । राति घरबाहिरको शौचालयसमेत जान नसक्ने अवस्था छ ।’
Discussion about this post