बाँके भदौ २१ गते ।
नेपालगन्जमा रहेको कान्ति ताल विश्वमै दुर्लभ मानिने चरा सारसको प्रजनन गर्ने ठाउँ बनेको छ । कान्ति तालमा ३२ प्रजातिका चरा देखिएको र सो ठाउँ विश्वको दुर्लभ चरा सारसको प्रजनन गर्ने ठाउँसमेत रहेकाले उक्त तालको संरक्षण आवश्यक भएको चराविज्ञको भनाइ छ ।
नेपाल पन्छी सङ्घका प्रोजेक्ट फिल्ड अफिसर हिरू डगौराले कान्ति ताल नेपालमा सारस बढाउने एक अहम् माध्यम बन्न सक्ने बताउँदै नेपालगन्ज सहरको पर्यावरणका लागि पनि सो तालको संरक्षण महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले सिमसार क्षेत्रमा मात्र प्रजनन गर्ने नेपालको स्थानीय चरा जलअप्सराले निश्चित सिमसार क्षेत्र मात्र छनोट गर्ने गरेको बताउँदै बाँकेको कान्ति ताल, बर्दियाको बढैया ताल, कैलालीको घोडाघोडी र कञ्चनपुरको पुरैनी ताल सो चराले छनोट गरेको पाइएको बताउनुभयो । यो तालमा मोटरबोट नचलाउन आग्रह गर्दै चराविज्ञ डगौराले मोटरबोट चलाउनुको सट्टा जलीय जैविकता संरक्षणसहितको विकल्प अपनाएर चरा ताल बनाई यहाँ पर्यटक भित्र्याउने विकल्प अपनाउनुपर्नेमा जोड दिनुभयो ।
पन्छी विशेषज्ञ रामबहादुर शाहीले वातावरण, पर्यावरण र चराको संरक्षणका लागि सिमसार क्षेत्रको रेखदेख र संवर्धनमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । उहाँले कान्ति तालमा मोटरबोटको विकल्पमा प्राकृतिक चरा पार्क बनाएर आम्दानी गर्न सकिने सुझाव दिँदै सो तालमा ३२ प्रजातिका चरा देखिएको र यो ठाउँ विश्वको दुर्लभ चरा सारसको प्रजनन गर्ने ठाउँ रहेकाले संरक्षण आवश्यक भएको बताउनुभयो । यसैबिच कान्ति तालमा मोटरबोट नचलाउन स्थानीयले माग गर्दै दबाब बढाउँदै गएका छन् । उनीहरूले मोटरबोट सञ्चालनविरुद्ध दबाब दिइरहेकै बेला सो ताललाई चरा पार्क बनाउन चराविज्ञहरूले माग गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २१ र २२ अन्तर्गत २५ बिघा क्षेत्रफलमा फैलिएको कान्ति तालमा मोटरबोट चलाउने तयारी गरिएपछि स्थानीय बासिन्दा, चराविज्ञ र संरक्षणकर्मीले सिमसारलाई प्राकृतिक रूपमै संरक्षण गरेर आयआर्जनको माध्यम बनाउन माग गरेका हुन् ।
सो तालमा मोटरबोट चलाउनुको सट्टा जलीय जैविकता संरक्षणसहितको विकल्प अपनाएर चरा ताल बनाई त्यहाँ पर्यटक भित्र्याउने विकल्प अपनाउनुपर्ने स्थानीय अभियन्ता डा. विनोद कर्णले माग गर्नुभयो ।
उहाँले मोटरबोटको विकल्पमा प्राकृतिक चरा पार्क बनाएर आम्दानी गर्न सकिने बताउनुभयो । बाक्लो बस्ती भएको नेपालगन्ज सहरको पर्यावरणका लागि पनि कान्ति तालको संरक्षण महत्वपूर्ण रहेको डा. कर्णको भनाइ छ । कान्ति तालमा प्रकृतिसँग रमाउन चाहिरहेका मानिसलाई चरा देखाउन, यहाँका स्कुल, कलेजलाई लक्षित गरी जैविक विविधता सिकाइ सेन्टरका रूपमा पनि विकास गरेर आम्दानी गर्न सकिने अधिकांशको सुझाव छ ।
चरा विशेषज्ञहरूले बाँके, बर्दियामा भएका सिमसारमध्ये राम्रो अवस्थाको तालका रूपमा कान्ति ताल देखिएको बताएका छन् । नेपालमा संरक्षणको सूचीमा नौ प्रकारका सारस रहेकामा तीमध्ये छ वटा तराईमा र तीन वटा कान्ति तालमा देखिएको जनाइएको छ । जाडोयाममा साइबेरिया, श्रीलङ्कालगायतका देशबाट आउने चरा सो तालमा आराम गरेर भारत जाने र त्यहाँबाट फेरि यहाँ आएर फर्किने गरेको पनि पाइएको छ । गोरखापत्र
Discussion about this post