बाँके असोज १० गते ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २२ की साबुरन किंगरिया उमेरले ७० वर्षकी भइन् । उनले आफ्नो जीवनकालमा थुप्रै आन्दोलन देखिन् । त्यहीँ आन्दोलनको जगमा मुलुक परिवर्तन भएको पनि सुनिन् ।
तर न उनको आफ्नो जीवनमा कुनै परिवर्तन आयो न त टोलको विकास भयो । अहिलेपनि उनको टोलमा न सडक राम्रो छ न त शिक्षा र स्वास्थ्यको राम्रो प्रवन्ध । चुनावका बेला नेताहरु भोट माग्न आउँछन् । भोट जितेर पठाएपछि सबै समस्या समाधान गरिदिने वाचा गर्छन ।
जिताएर पठाएपछि फर्केर आउँदैनन् । ‘हाम्रो टोलमा त समस्यै समस्या छ उनी भन्छिन्–‘बस्नका लागि राम्रो घर छैन । हिड्नका लागि राम्रो बाटोघाटो छैन । सौच गर्नका लागि शौचालय छैन।’ ४२ वर्षीया राजिना किंगरियाको पीडा पनि उस्तै छ । उनका ४–५ जनाको परिवार छ । रोजगारी कसैको छैन । मजदुरीको भरमा परिवार चलेको छ । लोपोन्मुख जातिका रुपमा रहेको किंगरिया समुदायको जीवनयापनमा सरकारले वेवास्ता गरेको अनुभव उनीहरुको छ ।
यहाँ तीन सय घरका ३ हजार ५ सय जना किंगरिया समुदायको बसोबास छ । गएको निर्वाचनमा जिताएर पठाएका संघीय तथा प्रदेशका कुनैपनि सांसदहरु अहिलेसम्म आफ्नो वस्तीमा नआएको राजिना बताउँछिन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर २२ का वडाअध्यक्ष अब्दुल गफ्फारले किंगरिया समुदायको समस्या समाधानका लागि आफ्नो तहबाट गर्ने काम गर्दै आएको बताउँछन् । तर वडासँग सीमित स्रोतसाधनका कारण सबै समस्या समाधान गर्न सम्भव नहुने उनको भनाइ छ । नेपालगञ्ज उपमहानगरपालिका २२ पुरैनीको किंगनियापूर्वामा किंगरिया जातिको बसोबास छ ।
Discussion about this post