दाङ असोज ११ गते ।
दाङमा निर्माण भएको थारू संग्राहलयमा पछिल्लो समय आकर्षण बढ्दै गएको छ । थारू जातिको कला संस्कृति संरक्षणसँगै अध्ययन अनुसन्धानमा सहयोग पु¥याउने उद्देश्यले दाङको दङ्गीशरण गाउँपालिका–३, चखौरामा निर्माण गरिएको थारू संग्राहलयमा अवलोकनसँगै अध्ययन अनुसन्धानको आकर्षण बढ्दै गएको हो ।
थारू समुदायसँग सम्बन्धित कला, संस्कृति र परम्पराको अवलोकन तथा अध्ययनका लागि दैनिक सयौँको संख्यामा मानिस पुग्ने गरेका छन् । दाङलगायत देशका विभिन्न जिल्लामा रहेका थारू समुदायका कला संस्कृतिलाई संरक्षण गर्न निर्माण भएको थारू सङ्ग्रहालय युवा विद्यार्थीको अध्ययनको केन्द्रसँगै समाज विकासका लागि खोज अनुसन्धान गर्नेका लागि सहयोगी केन्द्रका रूपमा विकास भएको छ ।
थारू समुदायको जन्म, मृत्यु, विवाहलगायतका संस्कारसँग जोडिएका परम्परालाई चित्र, मूर्ति, गरगहना र वेशभूषाबाट चित्रण गरिएको छ । पछिल्लो समय थारू संग्राहलय अवलोकनसँगै अध्ययन अनुसन्धानको केन्द्रका रूपमा विकास भइरहेको थारू सांस्कृतिक संरक्षण केन्द्रका उपाध्यक्ष शान्ता चौधरीले बताइन् ।
उपाध्यक्ष चौधरीका अनुसार चखौरामा रहेको थारू संग्राहलयमा दैनिक १५० जनासम्म आउने गरेका छन् । उनका अनुसार थारू संग्राहलयमा थारू जातिसँग सम्बन्धित कला, संस्कृति र परम्परासँग जोडिएका थारू समुदायको कला, संस्कृति, रीतिरिवाज, वेशभूषासहित परम्परागत रूपमा प्रयोग हुँदै आएका तर अहिले लोपोन्मुख अवस्थामा रहेका मूर्ति, नक्सा, गरगहना, पोषकलगायतका परम्परागत वस्तु संरक्षण गरेर राखिएको छ । त्यसैगरी थारू जातिका परम्परा, नाचगान, चाडपर्व र सामाजिक जीवन झल्किने सामग्रीको अध्ययन तथा अवलोकनका लागि दैनिक रूपमा मानिस आउने गरेको उपाध्यक्ष चौधरी बताउँछिन् ।
Discussion about this post