बाँके पुस १ गते ।
नेपाल पत्रकार महासंघ बाँकेको नवनिर्वाचित पदाधिकारीसहित कार्य समिति सदस्यलाई अनलाइन पत्रकार संघ, बाँकेले बधाई तथा शुभकामना दिएको छ । मङ्सिर २८ गते भएको पत्रकार महासंघ बाँकेको अधिवेशनबाट निर्वाचित पदाधिकारीसहित कार्यसमिति सदस्यलाई संघले सोमवार एक कार्यक्रमका वीच बधाई तथा शुभकामना दिएको हो ।
संघका अध्यक्ष कमल न्यौपानेको अध्यक्षतामा भएको बधाई तथा शुभकामना कार्यक्रममा महासंघ बाँकेका नवनिर्वाचित अध्यक्ष नविन गिरीले पत्रकार र पत्रकारिता क्षेत्रका विकासका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए । उनले पत्रकार र पत्रकारिता क्षेत्रमा पछिल्लो समय देखिएको विकृति, विसंगती विरुद्ध आवाज उठाउने बताउँदै पत्रकारको हकहितमा लाग्ने जिकिर गरे ।
उनले कुनै राजनीतिक दलको प्रभावमा नपरि सवैलाई समान ब्यवहार गर्ने उद्घोष समेत गरे । कुनै विशेष राजनीतिक दलबाट निर्वाचनमा सहभागी हुनुपर्ने बाध्यता भएको औँल्याउँदै उनले निर्वाचन सम्पन्न भएपछि कुनै एउटा खास दलको मात्र प्रतिनिधि हुन नसक्ने बताए ।
उनले नेपाल पत्रकार महासंघलाई देशकै नमुना शाखाको रुपमा स्थापित गर्न नयाँ नेतृत्वले भूमिका खेल्ने दावी गरे । ‘म अव एउटा खास दलको प्रतिनिधि नभई सवैको साझा भइसकेको छु । राजनीतिक आस्थाकै कारण कसैलाई काखा र कसैलाई पाखा गर्ने छैन,’ उनले भने ।
संघका अध्यक्ष न्यौपानेले नेपाल पत्रकार महासंघलाई गतिशिल बनाउन सुझाव दिए । उनले राजनीतिक दलमा आस्था राख्नेहरुका कारण महासंघको बदनाम भइरहेको बताउँदै विगतमा भएका गल्ती नदोहोर्याउन आग्रह गरे । उनले समाचार लेखेकै कारण पत्रकार असुरक्षित बन्ने अवस्था सिर्जना भएको बताउँदै उनले पत्रकारको हकहित र अधिकार स्थापितका लागि गम्भिर हुनुपर्ने धारणा राखे ।
अधिवेशनमा देखिएको अस्वच्छ प्रतिस्पर्धालाई लिएर महासंघले दलिय आस्थाका आधारमा कसैलाई विभेद गर्न नहुने उनको भनाई थियो ।
Discussion about this post