बाँके पुस १२ गते ।
बाघ संरक्षणका लागि स्थापना गरिएको देशकै सबैभन्दा कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जमा बाघलगायतका जङ्गली जनावर अवलोकनका लागि जङ्गल सफारी खुला गरिएको छ ।
स्वदेशी तथा विदेशी पर्यटकका लागि बाँके राष्ट्रिय निकुञ्जले यस वर्ष पनि जङ्गल सफारी खुला गरेको जनाएको छ । निकुञ्जभित्र रहेको वनपथवरिपरिका झाडी सफा गरेर बाघ देखिने ठाउँ पहिचान गरी सफारी खुला गरिएको निकुञ्जका सूचना अधिकारी मन्दिप पङ्गेनीले बताए ।
उनले निकुञ्जमा घुम्न आउने पर्यटकका लागि निकुञ्ज मुख्यालय ओभरी र कोहलपुरस्थित सेक्टर कार्यालयबाट सफारीको टिकट काट्ने व्यवस्था मिलाइएको बताए ।
सूचना अधिकारी पङ्गेनीका अनुसार सफारीमा निकुञ्ज क्षेत्रमा पर्यटकले दुर्लभ पाटेबाघसहित आहारा प्रजातिका वन्यजन्तु अवलोकन गर्न सक्ने छन् । निकुञ्जभित्र वन्यजन्तु अवलोकन गर्न ठाउँ ठाउँमा मचान, घाँसेमैदान, कृत्रिम पोखरी, वनपथ जस्ता पूर्वाधारसमेत निर्माण गरिएका छन् ।
१० जना अटाउने जिप सफारीका लागि दुई हजार पाँच सय रुपैयाँ शुल्क तोकिएको निकुञ्जले जनाएको छ । अगैया वनपथमा बाघ देखिने सबैभन्दा बढी सम्भावना रहेको बताइएको छ । उनले बाघ रहने सही स्थान पत्ता लगाउन अहिले निकुञ्जभित्र क्यामरामार्फत अनुगमन सुरु गरिएको बताए ।
सो अनुगमन कार्यले निकुञ्जमा रहेका बाघको सङ्ख्या, बसोबास क्षेत्र र आहारा प्रजातिको अवस्थाको विस्तृत जानकारी प्राप्त हुने छ । विसं २०६७ मा बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्गकिलोमिटर क्षेत्र समेटेर नेपालको सबैभन्दा कान्छो निकुञ्जका रूपमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको थियो ।
Discussion about this post