बाँके माघ ३० गते ।
बाँके प्रहरीले भारी परिमाणको अवैध औषधि बरामद गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक अरुण बमको नेतृत्वको टोलीले नेपालगन्ज उपमहानगरपालिका–११ टांगा स्टेसन नजिकैबाट भारी परिमाणको औषधि बरामद गरेको बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले जानकारी दिए ।
उनले विशेष सूचनाको आधारमा खटिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको विशेष टोली र वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक बमको टोलीले भारतबाट ल्याइएका २६ थरिका औषधिसहित नेपालगन्ज उपमहानगरपालिका १ का ३५ वर्षीय सन्जिव गुप्तालाई पक्राउ गरिएको एसपी कार्कीले बताए ।
उनले बरामद औषधि भएको औषधि तीन लाख १४ हजार ४ सय रुपैयाँ बराबरको भएको जानकारी दिए । ‘भारतबाट अवैध रुपमा ल्याएर भण्डारण गरि बाँके, बर्दिया, दाङ, सल्यान, सुर्खेत, दैलेख, जाजरकोटा, जुम्ला, हुम्ला लगायतका जिल्लामा विक्रि गर्दै आएको सूचनाको आधारमा छापा मार्दा भारी परिमाणमा अवैध औषधि भण्डारण गरेको फेला पायौँ,’ उनले भने ।
भारतीय औषधि भण्डारण भएको ठाउँमा औषधि खरिद, विक्रि गरेको बिल–बिजक फेला नपरेको एसपी कार्कीले बताए । ‘बरामद औषधि अवैध रुपमा भारतबाट नेपाल ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बरामद औषधि नियन्त्रणमा लिएर छानविन भइरहेको छ,’ उनले भने ।
उक्त औषधि टांगा स्टेसन नजिकैको कन्ट्रयाक्ट एक्स–प्रेस कुरियरको कार्यालय अगाडीको सडक पेटीमा लुकाई राखेको अवस्थामा फेला परेको उनले बताए । नेपाल विक्रि गर्न नपाइने प्रतिवन्धित औषधि समेत बरामद भएको छ,’ उनले भने, ‘एक त कर छली गरेर ल्याइएको औषधि हो, अर्कोतर्फ नेपालमा विक्रि वितरण गर्न नपाइने औषधि पनि छ । बरामद औषधि अवैध हो भन्ने प्रमाणित भएको छ । अनुसन्धान गरि थप कारवाहीका लागि औषधि ब्यवस्था विभागमा पठाउँछौँ ।’
कुरियर गरेर पठाउने तयारी भइरहेका बेला उक्त औषधि बरामद भएको एसपी कार्कीले बताए । प्रत्यक्षदर्शीहरुका अनुसार, लामो समयदेखि गुप्ताले कुरियर मार्फत अवैध औषधि विभिन्न जिल्लामा पठाउँदै आएका थिए । ‘भारतबाट अवैध रुपमा ल्याइएका औषधि कुरियरमार्फत सुर्खेत, दाङ, दैलेख, काठमाडौंसम्म पुर्याउने गरिन्छ,’ एक प्रत्यक्षदर्शीले भने ।
अवैध औषधिसहित पक्राउ परेका गुप्तालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताउँदै एसपी कार्कीले अवैध औषधि विक्रि, वितरण गर्ने अन्य ब्यक्ति पनि पक्राउ पर्ने जिकिर गरे । ‘हामी अनुसन्धानमा छौँ । गुप्तामार्फत अन्य तस्करको बारेमा पनि सूचना मिलिरहेको छ । थप ब्यक्ति पनि पक्राउ पर्ने सम्भावना बढेर गएको छ,’ उनले भने ।
Discussion about this post