बाँके फागुन ६ गते ।
सडक दुर्घटना न्युनिकरण गर्न ट्राफिक प्रहरी पोष्ट नेपालगन्जले नेपालगन्जस्थित संजीवनी अस्पताल अगाडी जेब्रा क्रसिङ्ग रंगरोगन गरेको छ ।
सडक दुर्घटना बढेपछि संजीवनी अस्पतालको आग्रहमा ट्राफिक प्रहरी पोष्टले संजीवनी अस्पतालको अगाडीको सडकमा बनाइएको जेब्रा क्रसिङ्गको रंगरोगन गरेको नेपालगन्जका प्रमुख बरिष्ठ ट्राफिक प्रहरी नायव निरीक्षक प्रविण आचार्यले जानकारी दिए ।
उनले भने, ’संजीवनी अस्पताल अगाडीको रोडमा बनाइएको जेब्रा क्रसिङ्गको रंगरोगन उडेर नदेखिने भएको थियो । अस्पतालले आग्रह गरेपछि ट्राफिक प्रहरीले पुनः रंगरोगन गरेको हो ।’
सुर्खेत रोडमा तिब्र गतिमा सवारी साधन गुड्ने गरेको छ, भने संजीवनी अस्पताल अगाडी सडक वारपार गर्नेको संख्या अत्यधिक छ । जेब्रा क्रसिङ्गको रंगरोगन उडेकाले सवारी दुर्घटना निम्तिने खतरा बढेको थियो । ’यो ठाउँमा एक त मान्छेको ओहोरदोहर अत्यधिक हुन्छ ।
त्यसैमा सडकमा बनाइएको जेब्रा क्रसिङ्गको रंगरोगन उड्दा सवारी दुर्घटना हुने खतरा थियो,’ उनले भने, ’जेब्रा क्रसिङ्गको चिन्हले सार्वसाधारणलाई सडक वारपार गर्न सहज हुने आशा गरिएको छ ।’
यसैबीच बरिष्ठ ट्राफिक प्रहरी नायब निरिक्षक आचार्यले बालबालिकालाई सडक दुर्घटनाबाट जोगाउन सचेतिकरण अभियान समेत थालेका छन् । उनले बिद्यालयबाट फर्किदै गरेका बालबालिकालाई जेब्रा क्रसिङ्ग र सडकमा हिड्ने बेला अपनाउनु पर्ने साबधानीका बारेमा जानकारी गराएका छन् ।
Discussion about this post