बाँके फागुन १५ गते ।
नेपालगन्जको सुर्खेतरोडमा जडान भएका सडक बत्ति विग्रिएको महिनौँ वित्दासमेत मर्मत हुन नसक्दा सडक दुर्घटनाको जोखिम बढाएको छ । सुर्खेत रोडको वीच भागमा बत्तिका लागि पोल गाडेर दुवैतर्फ उज्यालो बनाउने उद्देश्यले जडान भई विग्रिएका बत्ति मर्मत गर्न उपमहानगरका मेयर प्रशान्त विष्ट र उममेयर कमरुद्धिन राईले चासो नदिँदा दुर्घटनाको जोखिम बढाएको हो ।
जमुनाहदेखि राँझा चोकमा जडान भएका तीन दर्जन सडक बत्ति विग्रिएको महिनौँ भइसकेको स्थानीय बताउँछन् । सडक बत्ति मर्मत नहुँदा सडकमा बसेका र हिड्डुल गरिरहेका छाडा पशु चौपाया नदेखिने गरेको सवारी चालक बताउँछन् । ‘कतै बत्ति बल्छ, कतै बल्दैन । बलेको ठाउँमा पशुचौपाया देख्दा सवारी साधन चलाउन सहज हुन्छ । नबलेको ठाउँमा बसेका र उभिएका पशु चौपायामा ठोकिने सम्भावना रहन्छ,’ ति सवारी चालकले भने, ‘सडक बत्ति नबलेको ठाउँमा गाई बसेका रहेछन्, नदेखेर झण्डैले ठोकिएन ।’
उपमहानगरले सडक बत्ति मर्मतमा समेत ध्यान दिन नसक्नु नेपालगन्जबासीको दुर्भाग्य भएको नेपालगन्ज उपमहानगरपालिका १ का राम थापाले बताए । उनले भने, ‘नगरलाई उज्यालो बनाउने कार्यमा समेत उपमहानगरका मेयर र उपमेयरले चासो नदिनु लज्जाको विषय हो ।’
सोलार सिष्टमको सडक बत्तिलाई विस्थापित गरि नेपालगन्जका हालका मेयर र उपमेयरले विद्युतबाट बाल्ने बनाएका छन् । सोलारको ब्याट्रीले काम गर्न छाडेपछि उपमहानगरका मेयर र उपमेयरको निर्देशनमा विद्युतबाट बत्ति बाल्ने ब्यवस्था मिलाएका हुन् । तर, विद्युतबाट बत्ति बल्ने बनाएको ६ महिनामै सुर्खेतरोडका बत्ति बल्न छाडेका छन् । ‘बत्ति मर्मत गर्न धेरै खर्च लाग्दैन । तै पनि उपमहानगरका मेयर र उपमेयरले यसमा चासो दिँदैनन् । यो उपमहानगरको लापरबाही बाहेक अरु केहि होइन,’ नेपालगन्ज उपमहानगरपालिका ३ का जाविर हल्वाईले भने ।
जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा चासो नदिई मेयर र उपमेयरले औपचारिक तथा अनौपचारिक कार्यक्रममा भाषण गरेर समय ब्यतित गर्दै आएको नगरबासीको गुनासो छ । ‘अहिलेका मेयर र उपमेयरको समय जनताको काम भन्दा भाषणमै वित्ने गरेको छ । विकास र नीति, नियम बनाउनेभन्दा फगतको गफमा समय विताएको देखिन्छ,’ नेपालगन्ज उपमहानगरपालिका ४ का राजकुमार शर्माले भने ।
Discussion about this post