काठमाडौ फागुन १८ गते ।
च्याम्पियन्स ट्रफी क्रिकेटमा दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । पाकिस्तानको कराचीमा इङ्गल्यान्डसँग भएको खेलमा जीतका लागि एक सय ८० रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २९ ओभर १ बलमा ३ विकेट गुमाएर भेट्टायो ।
उसका रस्सी भान सर्वाधिक ७२ रनमा अविजित रहे । हेनरिक क्लासेनले ६४ रन बनाए । इङ्गल्यान्डका जोफ्रा आर्चरले दुई र लियाम लिभिङस्टनले एक विकेट लिए । इङ्गल्यान्ड ७ विकेटले पराजित भयो । त्यसअघि टस जितेर इङ्गल्यान्डले ३८ ओभर २ बलमा सबै विकेट गुमाएर एक सय ७९ रनमा बनाएको थियो ।
जो रुटले सर्वाधिक ३७ रन, जोफ्रा आर्चरले २५ तथा जोस बटलरले २१ रन बनाए । दक्षिण अफ्रिकाका मार्को जानसेन र वियान मल्डरले समान तीन विकेट लिए । केशव महाराजले दुई विकेट लिए । जीतसँगै दक्षिण अफ्रिका ५ अङ्कका साथ समुह ‘बी’ को विजेता बन्यो । ४ अङ्क रहेको अस्ट्रेलिया समूहको उपविजेता बन्यो ।
समूह ‘बी’ का अफगानिस्तान र इङ्गल्यान्ड समूह चरणबाटै बाहिरिए । च्याम्पियन्स ट्रफी क्रिकेटमा आज समूह ‘ए’ का भारत र न्युजिल्याण्डबीच खेल हुँदैछ । यो खेल दुबईमा दिउँसो पौने तीन बजे शुरू हुनेछ । समूह ‘ए’ बाट भारत र न्युजिल्याण्ड सेमिफाइनलमा पुगिसकेका छन् । बङ्गलादेश र आयोजक पाकिस्तान यसअघि नै बाहिरीसकेका छन् ।
Discussion about this post