काठमाडौं फागुन २० गते ।
आउँदो मार्च २१ तारिखदेखि शुरू हुने इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करणका लागि कोलकाता नाइट राइडर्स (केकेआर) ले अजिन्क्या रहाणेलाई कप्तान नियुक्त गरेको छ । यस्तै वेन्कटेश अय्यर टोलीका उपकप्तान नियुक्त भएका छन् ।
रहाणेलाई कोलकाताले गएको वर्षको नोभेम्बरमा भएको आईपीएल मेगा अक्शनमा १ करोड ५ लाख भारतीय रुपैयाँको आधार मूल्यमा अनुबन्ध गरेको थियो । यस्तै अय्यरलाई रिटेन नगरेको कोलकाताले पछि २३ करोड ७५ लाख भारुमा टोलीमा अनुबन्ध गरेको थियो ।
कोलकाताले गएको वर्षको उपाधि जितेको आधारमा उद्घाटन खेलमा रोयल च्यालेन्सर्ज बेङ्गलुरुसँगै खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । गएको संस्करणको फाइनलमा सनराइजर्स हैदराबादलाई हराउँदै कोलकाताले तेस्रो आईपीएल उपाधि जितेको थियो ।गएको संस्करणका कप्तान श्रेयस अय्यर पञ्जाब किङ्ग्समा अनुबन्ध भएपछि रहाणेले टोलीको नेतृत्व गर्ने मौका पाएका हुन् ।
Discussion about this post