बाँके फागुन २१ गते ।
नेपालगन्जमा हात्तीपाइले विरुद्धको आमऔषधी सेवन अभियान यसपटक पनि उत्साहपूर्वक चल्न सकेको छैन । बाँकेका तीन पालिका मध्ये नेपालगन्ज उपमहानगरपालिका केही वडा र टोलमा औषधी सेवन गराउनका लागि निकै कठिन भैरहेको स्वास्थ्य स्वयंसेवकहरू बताउँछन् ।
नेपालगन्जमा गत फागुन ५ गते र डुडुवा गाउँपालिका तथा नरैनापुरमा फागुन ७ गतेबाट हात्तीपाइले विरुद्धको आम औषधी सेवन अभियान सुरु गरिएको थियो । बाँकेमा १३ पटकसम्म औषधी खुवाउने अभियान सञ्चालन गरेपनि प्रभावकारी नभएपछि १४ औं पटक सुरु गरिएको अभियानले दुई साता नाघिसक्दा पनि नेपालगन्जमा औषधी सेवनमा अनिच्छा प्रकट गर्नेहरूको संख्या ठूलै रहेको छ ।
नेपालगन्ज उपमहानगर, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकाको एउटा वडामा सञ्चालन गरिएको हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रम यस पटक पनि सफल हुने कुरामा निकै चुनौती देखिएको स्वास्थ्यकर्मीहरूले जनाएका छन् । ‘एक महिने अभियान हो, समय छ, लक्ष्य हासिल गर्नलाई सबैको सहयोग आवश्यक छ’, स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतम भन्छिन् ।
बाँकेमा दुई साता नाघिसक्दा औषधी सेवन समग्र लक्ष्यको ३८ प्रतिशत मात्रै भएको छ । पालिका अनुसार, नेपालगन्ज उपमहानगरपालिकामा लक्ष्यको ३१ प्रतिशत, नरैनापुर गाउँपालिकामा ५४ प्रतिशत, डुडुवा गाउँपालिकामा ४९.६ र बैजनाथ गाउँपालिकाको वडा नं. ४ मा लक्ष्यको ३३.८ प्रतिशतले औषधी सेवन गरेका छन् । ‘कतिपय जनप्रतिनिधि औषधी सेवन कार्यक्रममा आफैपनि हिड्नु भएको छ भने कतिपय चासो नदिएको पनि पाएका छौं’, स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन गौतम भन्छिन्, ‘सबैले औषधी सेवन गरे जोखिम मुक्त हुनसक्छ, नत्र यसअघि पास भएका पालिका तर्फ पनि सर्ने जोखिम हुनसक्छ ।’‘
नरैनापुर र डुडुवामा दिउँसो औषधी खादिन भन्नेहरूलाई राती भएपनि जोखिम मोलेर स्वास्थ्यकर्मी घरघर पुग्नु भएको छ’, स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन गौतम भन्छिन्, ‘नेपालगन्जमा पनि घरघर पुगिरहनु भएको छ ।’ अब औषधी खानेले नखानेलाई बुझाएर औषधी खुवाए अभियानको अवधी भित्र लक्ष्य हासिल हुनसक्ने स्वास्थ्यकर्मी बताउँछन् । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीका अनुसार यस पटकको अभियानअन्तर्गत बाँकेका दुई पालिका र एक वडामा दुई लाख ५७ हजार जनालाई औषधी खुवाउने लक्ष्य राखिएको छ ।
उनले औषधी सेवन गराउन स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन र स्थानीय स्वास्थ्यकर्मीहरू सक्रिय रहेको जानकारी दिए । नेपालगन्जका धार्मिक संस्था र अगुवाहरूले औषधी सेवन गरेर देखाउँदा पनि समुदायमा सो अभियान प्रभावकारी बन्न सकेको छैन । इस्लामिक धर्मावलम्वीहरूको रोजा सुरु भएकाले औषधी सेवन कार्यक्रम साँझमा पनि सञ्चालन गर्नुपर्ने देखिन्छ । बाँके देशभरमै हात्तीपाइलेको रेडजोनमा रहेको एउटा मात्र जिल्ला हो ।
देशका अन्य सबै जिल्ला हात्तीपाइले निवारणको चरणमा रहँदा बाँके भने अझै त्यसका लागि सफल हुन नसकेको तथ्यांकले देखाएको हो । बाँकेमा अहिलेसम्म १५.३६ प्रतिशत र नेपालगन्ज उपमहानगरपालिकामा १८.४५ प्रतिशतले हालसम्मको अभियानमा औषधि नै नखाएको तथ्यांकले देखाएको छ ।
यसअघिका अभियानका क्रममा नेपालगन्ज उपमहानगरपालिकाका कुनै पनि वडामा औषधि सेवन दर ८० प्रतिशत पुगेकै छैन । औषधि सेवन दर ८० प्रतिशत नपुग्दासम्म त्यसको प्रभाव नरहने अध्ययनले देखाएको छ । बाँकेमा औषधी किन खाएनन् भन्ने अध्ययन पनि गरिएको छ । अध्ययन अनुसार, अनुपस्थितिका कारण ८.५६ प्रतिशत, दिर्घ रोगका कारण १४.३८ प्रतिशत, प्रति असरको डरले ३३.२८ प्रतिशत, जनचेतनाको कमीले ३२.५३ प्रतिशतले औषधी सेवन गरेका थिएनन् ।
Discussion about this post