लुम्बिनी फागुन २३ गते ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले शिक्षाको विकासका लागि शिक्षा क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरू एकजुट हुनुपर्ने बताएका छन् । मन्त्री तिमिल्सिनाले शिक्षालाई सर्वसुलभ, गुणस्तरीय र सबैको पहुँचभित्र पु¥याउन साझा प्रयास आवश्यक रहेको उल्लेख गरे ।
कपिलवस्तुको चन्द्रौटामा आयोजित “दिगो तथा सम्मानित रोजगारिका लागि सिप परियोजना– दोस्रो चरणको अर्ध–वार्षिक प्रगति समीक्षा तथा वार्षिक योजना तर्जुमा कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले शिक्षा प्रत्येक नागरिकको मौलिक हक भएकाले यसको सुनिश्चितताका लागि तीन तहका सरकार, शिक्षा संस्थाहरू तथा विकास साझेदार संस्थाहरूबीच सहकार्य अनिवार्य रहेको बताए । उनले शिक्षा क्षेत्रलाई आर्थिक, भौतिक र प्रविधिसँग जोडेर अघि बढाउनुपर्नेमा पनि जोड दिए ।
“गुणस्तरीय शिक्षाको अभावमा कुनै पनि समाजले विकास गर्न सक्दैन । त्यसैले शिक्षालाई प्राथमिकतामा राखेर आवश्यक नीति तथा कार्यक्रम ल्याउनुपर्छ,” मन्त्री तिमिल्सिनाले भने। कार्यक्रम इन्स्योर परियोजना र हेल्पटास नेपालको संयुक्त आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका शिक्षा इकाई प्रमुख, स्थानीय तहका शिक्षा प्रमुख, नीति निर्माता तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
Discussion about this post