बाँके बैशाख ११ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाका महिलालाई सुकेको मकैका खोस्टा र वनजङ्गलमा पाइने थाकलको पातबाट फूल बनाउने तालिम दिइएको छ। राप्ती सोनारी–६ ले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन यो तालिम आयोजना गरेको हो । गाउँघरमा प्रशस्त मात्रामा पाइने मकैका खोस्टा र थाकल प्रयोग गर्न नजान्दा खेर गइरहेका हुन्छन् ।
तर, राप्ती सोनारी–६ का महिलाले यी खेर गएका वस्तुलाई सङ्कलन गरी आकर्षक सामग्री तयार पारेका छन् । राप्ती सोनारी–६ को सहयोग र सहयोगी मन बाँकेको आयोजनामा १० दिनसम्म चलेको तालिममा महिलाले प्राकृतिक रेसाजन्य वनस्पतिको प्रयोग गरी हस्तकलाका विभिन्न सामग्री उत्पादनसम्बन्धी ज्ञान र सीप हासिल गरेका छन् ।
अब उनीहरू टोपी, झोला लगायतका सामग्री उत्पादन गर्न सक्ने भएका छन् । सहयोगी मनकी उपाध्यक्ष पुर्णिमा थापाले सीप र ज्ञान नहुँदा गाउँमा पाइने वस्तुको उपयोग हुन नसकेको तर अब हातमा सीप भएपछि आवश्यक सामग्री आफैँ तयार पार्न सकिने बताइन् । उनले गाउँमा उत्पादित सामग्रीको बजारीकरण सहयोगी मनले गर्ने जानकारी दिइन् । सहभागी मैनामोति थारुले गाउँघरका जङ्गलमा थाकल र मकैका खोस्टा प्रशस्त हुने भएकाले सामग्री खरिदमा खर्च गर्न नपर्ने र सीप भएपछि घर सजावटका लागि विभिन्न आकर्षक सामग्री आफैँले बनाउन सकिने बताइन्।
सहयोगी मनकी अध्यक्ष इन्दिरा शाहीले कच्चा सामग्री खरिदमा रकम खर्च गर्न नपर्ने र गाउँघरमा भने जति सामग्री पाइने भएकाले यो सीप महिलाका लागि अति उपयोगी रहेको बताइन्। सहयोगी मनले १५ जना महिलालाई यो सीप प्रदान गरेको छ र सीप सिकेपछि महिलाहरू व्यावसायिक उत्पादनमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राप्ती सोनारी–६ का वडा अध्यक्ष लबराज खरेलले उत्पादित हस्तकला सामग्री वडाले खरिद गरिदिने र उत्पादनका आधारमा अनुदान दिन पहल गर्ने बताए । उनले आयआर्जनमूलक क्षेत्रमा प्रोत्साहन गर्न विभिन्न सीपमूलक तालिम दिइरहेको र महिलाहरू आत्मनिर्भरतर्फ अगाडि बढेको बताए।
वडाले महिलालाई आर्थिक रूपमा सक्षम बनाउन मकैका खोस्टा र थाकलबाट फूल बनाउने तालिमका साथै मेहंदी लगाउने तालिम पनि प्रदान गरेको छ। १० दिनसम्म सञ्चालित तालिममा अन्जनी चौधरीले सहजीकरण गरेकी थिइन्।
Discussion about this post