बाँके बैशाख १३ गते ।
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि बढाउन तथा पर्यटकलाई निकुञ्जभित्र घुमफिरमा सहज बनाउनका लागि नेचर गाइड (प्रकृति पथ प्रदर्शक) एसोसिएसनको सम्पर्क कार्यालय बाँकेको कोहलपुरमा स्थापना गरिएको छ ।
पर्यटकलाई घुमाउनका लागि मध्यवर्ती क्षेत्रका अहिले १५ जना लाइसन्स प्राप्त नेचर गाइड रहेका छन् । जंगल तथा वन्यजन्तु तथा वनस्पतिका बारेमा ११ दिनको पूर्व तालिम दिएर १५ जना नेचरगाइड तयार पारिएको हो । बाँके राष्ट्रिय निकुञ्ज तथा जेडएसएलले नेचरगाइड एसोसिएसन बाँकेलाई चार वटा दुरबिन प्रदान गरेको छ ।
नेचरगाइड एसोसिएसन बाँकेका अध्यक्ष भीमबहादुर डागीले स्वदेशी तथा विदेशी पाहनालाई सरक्षित तरिकाले निकुञ्ज घुमाउन तथा निकुञ्जको प्रचारप्रसार बढाउन नेचर गाइडको प्रमुख भूमिकामा रहने बताए । ‘पाहुनालाई कसरी स्वागत गर्ने निकुञ्जको प्रचारप्रसार कसरी बढाउने मुख्य जिम्मेवारी नेचर गाइडको हो ,’ उनले भने, ‘एउटा घुमेर गएको पाहुनाले अरुलाई घुम्न ल्याउन भन्ने वातावरण निर्माण गराउन जरुरी छ ।’
निकुञ्जमा घुम्न आउने पर्यटकलाई दृष्टिगत गरी निकुञ्ज मुख्यालय ओभरी र कोहलपुरस्थित सेक्टर कार्यालयबाट जुनसुकै समयमा पनि टिकट काट्ने व्यवस्था मिलाइएको छ । निकुञ्जमा घुम्न जीप सफारी, हात्ती सफारीको व्यवसथा गरिएको छ । निकुञ्जमा स्वदेशीलाई प्रतिव्यक्ति १०० रुपैयाँ सार्क राष्टकालाई ७५० रुपैयाँ, विदेशी नागरिकलाई १५ सय प्रवेश रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले निकुञ्जमा सजिलै वन्यजन्तु देख्न सकिने, निकुञ्जमा जीप सफारीका लागि सबै नाका खुल्ला भइसकेको बताए । ‘वन्यजन्तुका लागि बासस्थान व्यवस्थापन भएसँगै बाघ, चौका, जरायो लगायका वन्यजन्तुको अवलोकन सहज भएको छ । त्यसैले निकुञ्जले पर्यटकको सहजताका लागि कार्यालय स्थापना गरिएको हो,’ उनले भने, ‘सबै पक्षले पर्यटक भित्राउनेतर्फ ध्यान पु¥याउन सक्यौँ भने संरक्षणलाई सम्वृद्धितर्फ जोडन सम्भव छ ।’
निकुञ्जमा स्थापनाको छोटो समयै संरक्षणमा रहेका साझेदार संस्थाको सक्रियताले गर्दा मानव वन्यजन्तुबीचको द्वन्द्वसमेत घट्दै गएको बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काले बताए । पछिल्लो समय मध्यवर्ती क्षेत्रका नागरिक वनजंगलको परनिर्भरतालाई घटाउँदै गएका छन् । जसकारण मध्यवर्ती क्षेत्रका नागरिक आयआर्जनमासमेत जोडिन थालेका छन ।
नेचरगाइडहरुले आफ्नो क्षमतालाई अब्बल बनाउनुपर्ने र निकुञ्जको प्रचार प्रसारका लागि एम्बास्डरको रुपमा आफूलाई स्थापित गर्नुपर्ने तराई भूपरिधि परियोजनाका प्रबन्धक रामकिशोर यादवले बताए । जेडएसएल नेपाल कोहलपुर कार्यालयका प्रमुख सन्जय कँडेलले नेचरगाइहरुलाई चाहिने प्रविधिक सहयोग गरिरहेको सुनाए ।
नेचरगाइड एसोसिएसनका सल्लाहकार कृष्ण चौधरी बाँके राष्ट्रिय निकुञ्ज छ भनेर सबैले प्रचारप्रसार बढाएमा पर्यटकको कुनै दिन कमी नहुने बताए । कार्यक्रममा एनटिएनसी बर्दिया प्रमुख अजित तुम्बाहाम्फे, रण बम गण गणपति प्रमुख सेनानी प्रवीन थापा, नेचरगाइड र मध्यवर्ती उपभोक्ता समितिका अध्यक्षको सहभागिता रहेको थियो ।
निकुञ्जभित्र बाघको संख्या चारबाट बढेर अहिले पच्चिस पुगेको छ । आहारा प्रजातिको संख्या पनि बढेको छ । पर्यटनलाई केन्द्र बिन्दुमा राखेर काम गरिरहेको बताउँदै निकुञ्जभित्र वन्यजन्तु अवलोकन गर्नका लागि मचान, घाँसे–मैदान, कृत्रिम पानी पोखरी, वनपथजस्ता पूर्वाधार निर्माण गरिएको छ । दुर्लभ पाटेबाघ संरक्षण गर्ने उद्देश्यले २०६७ सालमा स्थापना भएको यो मुलुककै कान्छो राष्ट्रिय निकुञ्ज हो ।
Discussion about this post