खोजखबर संवाददाता बाँके पुस ७ गते ।
राप्तीसोनारी गाउँपालिका १ कुसुमका अर्जुन कुमाल पत्नि रिता कुमालसंगै विगत ३० बर्षदेखि राप्ती नदिमा सुन खोज्दै दिन विताईरहेका छन् । राप्ती नदिको बगरमा रहेको बालुवा चाल्दै सुन खोज्नु उनीहरुको दिनचर्या हो ।
राप्ती नदिमा फुसको छानो बनाएर बगरमै दिनरात काट्दै आएका अर्जुन कुमाललाई विगतको जस्तो सुन पाउन हिजोआज मुस्किल पर्छ ।
विगतमा दैनिक दुई लालसम्म सुन भेटाउने अर्जुनको परिवारलाई अहिले एक लाल पाउन पनि मुस्किल पर्छ ।
४ जनाको परिवार सुन खोजेर गुजरा चलाउने यो परिवारलाई अहिले दैनिकी धान्न मुस्किल परिरहेको छ ।
पहिला दिनमा दुई लाल सुन पाउँदा दैनिक एक हजार दुई सय रुपैँयासम्म आम्दानी हुन्थ्यो, उनले भने, अहिले एक लाल पाउँदा ६ सय रुपैँया मात्र आम्दानी हुन्छ ।
नेपालगञ्ज बजारमा सुन प्रतिलाल सात सय २० रुपैँया रहेपनि कुमालबाट सुनवालाहरु ६ सय रुपैँयामा खरिद गर्छन् ।
विहान ८ बजेदेखि साँझ ६ बजेसम्म राप्ती नदिमा सुन खोज्ने गरेको रिता कुमाल बताउनुहुन्छ । सुन पाउनै र खोज्नै मुस्किल छ, उनले भनिन् ।
पहिला दैनिक दुई लाल पाएपनि अहिले एक लाल पाउनसम्म गाहे उनको भनाई छ ।
नेपालको अतिनै पिछडिएको र अतिनै जातीय विभेदमा रहेको जात हो कुमाल ।
कुमाल जातिको बसोबास खास गरि तराई र भित्री मधेसमा नदि अनि खोलाको तिरहरुमा रहेको पाइन्छ ।
माटोको भाडा बनाउने र खोला नदिहरुमा सुन खोज्ने उनीहरुको पेशा हो ।
राप्तीसोनारी १ कुसुमका प्रेमबहादुर र उनका पत्नि देवकुमारी कुमाल पनि २० बर्षदेखि राप्ती नदिको बगरमा सुन खोज्दै आईरहेको बताउँछन् ।
बर्षातमा अलि धेरै सुन पाउने भएपनि हिजोआज हिउँदमा सुन पाउन मुस्किल हुने प्रेमबहादुर कुमाल बताउँछन् ।
सुन पाउन र पाएको सुनको मूल्य कम रहेको उनी भन्छन् । आफूहरु सुन खोज्ने र माछा मारेर गुजरा गर्ने गरेको प्रेम बताउँछन् ।
राप्ती नदिमा प्रेमको परिवार छाप्रो हालेर बसेको छ । राप्तीसोनारीमा पर्ने राप्ती नदिमा दर्जन कुमाल परिवार सुन खोजेर गुजरा चलाउँछ ।
सोही ठाउँका लक्ष्मी चौधरी पनि सदियो देखि दाजुसंग सुन चाल्दै आउनुभएको बताउछन् ।
दिनभरी चालेर पेट पाल्ने गरेको उनले बताए ।
जाडोयाममा पनि पानी संगै खेल्नुपर्ने बाध्यता छ उनले भने ।
उनीहरुका बालबालिका विद्यालय जादैनन् ।
यस्तै उनीहरुको स्थायी घर र आफ्नै जग्गा जमिन समेत छैन् । नेपालको लोपोन्मुख जातीमा यो समुदाय पर्दछ । राप्तीसोनारी गाउँपाकिाका अध्यक्ष लाहुराम थारुले राप्तीमा सुन खोज्ने कुमाललाई सुन चाल्न आवश्यक नँया सामग्री र प्रविधि वितरणको तयारी गरिएको बताए ।
उनीहरुलाई बेला बेलामा भेटेर हामीहरुले कुमालको सुन खोज्ने पेशाको सुरक्षाका विषयमा कुरा भएको उनले भने । कुमाल समुदायको बालबालिकाको शिक्षाको लागि पनि गाउँपालिका गम्भीर रहेको अध्यक्ष थारुले बताए ।
घरजग्गा नभएका सुन खोज्ने कुमाल समुदायलाई जनता आवास कार्यक्रम अन्तर्गत जग्गा र पक्की घर बनाउने योजना रहेको गाउँपालिकाको भनाई छ ।
राप्ती नदीमा बर्षौदेखि स्थानीयवासीले लामो समयदेखि सुन चाल्ने काम गर्दै आएका थिए ।
बालुवामा सुनका कणहरुसमेत भेटिने गरेकाले कुमालहरु शिक्षा र अन्य पेशा भन्दा यही पेशा उत्तम मान्ने गर्छन् । पहिला पहिला नदी किनारामा सुन सजिलै पाउने गरेपनि पछिल्लो समय नदीमा सुन पाउन छाडेको छ ।
कुसुममा बाक्लो बसोबास रहेको कुमाल समुदाय सुन खोज्नको लागि अन्यत्रै नदीमा जाने गरेका छन् । नदीमा करेन्ट लगाउने, विष हाल्नेलगायतका कार्यले नदीमा माछा पाउन छाडेपछि उनीहरुको पुख्यौली पेशासमेत सङ्कटमा पर्दै गएको छ ।
पछिल्लो समय नदीमा अवैध गिट्टी बालुवा उत्खनन गर्दा माछासमेत भेटिन छोडेकोले वैकल्पिक पेशाको रुपमा सुन खोज्नेतर्फ लागिएको उनीहरु बताउँछन् ।
धेरै पहिले राप्ती नदीमा पनि सुनका कण भेटिने गरेको भए पनि पछिल्लो समय भेटिन छाडेपछि यहाँका कुमाल कुसुमबाट सरेर अगैया, सिक्टा र चप्परगौरी गाउँ नजिक रहेको नदीमा जान बाध्य भएका छन् ।
Discussion about this post