बैतडी पुस २५ गते । बैतडीको तल्लो स्वराड क्षेत्रमा पर्ने शिवनाथ गाउँपालिका–२ मा बाबु र छोरा मृत फेला परेका छन्। बिहीबार साँझ खाना खाएरसँगै सुतेका उनीहरु शुक्रबार मृत अवस्थामा भेटिएका हुन्।
५८ वर्षीय बालीराम सार्की, उनका ५ वर्षीय छोरा नवीन र १० वर्षीया छोरी आरती एकै कोठामा सुतेका थिए। मृतककी श्रीमती र अन्य साना छोरीहरु नजिकै रहेको अर्को घरमा सुतेका थिए। आरती भने बेहोस अवस्थामा भेटिएकी थिइन्।
नजिकैको शर्माली स्वास्थ्यचौकीमा उपचारपछि उनी होसमा आएकी छन् । मृतकको शव पोस्टमार्टमका लागि मेलौली नगरपालिकाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
घटना कसरी भएको हो भन्ने बारे अहिले नै भन्न सकिने अवस्था नरहेको घटनास्थलबाट जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले बताए। उनका अनुसार उनीहरु सुतेको कोठामा झ्यालहरु थिएनन्। ढोकामा पनि कपडाले हावा छिर्न नदिएर सुतेका थिए। निसास्सिएर उनीहरुको मृत्यु भएको आशंका गरिएको छ।
Discussion about this post