विष्णु अधिकारी
बर्दिया माघ १४ गते । नेपालका ६३ जिल्लामा गरिएको सर्वेक्षण अनुसार हात्तीपाइले रोगको जिवाणु बर्दिया जिल्लामा बढि पाइएको सबैभन्दा स्वास्थ्य सेवा विभागका जन स्वास्थ्य निरिक्षक प्रदिप रिमालले बताए । नेपालका ६३ जिल्लामा गरिएको प्रति १०० जनाको परिक्षणमा १३ जनामा यो रोगको परजिवी भेटिएको छ भने बर्दियामा गरिएको १०० जनाको परिक्षणमा ४० जनामा यस रोगको परजिवी भेटिएकाले बर्दिया जिल्ला अन्य जिल्लाको तुलनामा उच्च जोखिमा रहेको रिमालले बताए । स्वास्थ्य कार्यालय बर्दिया को आयोजनामा राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम आम औषधि सेवन अभियान अन्तर्गत जिल्लाका संचारकर्मीहरु सँग मंगलवार कार्यक्रममा रिमालले सो कुरा जानकारी गराएका हुन । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत बर्दियामा माघ २५ गतेबाट औषधि खुवाईने भएको छ । विश्व स्वास्थ्य संगठनले सन २०२० सम्ममा आम औषधि सेवन मार्फत संसार बाटै यस रोगलाई निवारण गर्ने उद्देश्यले बर्दियामा २०६८ साल देखि हात्तीपाइले रोग विरुद्द औषधि खुवाउने अभियान सुरु गरिएको हो ।
हात्तीपाइले रोग विरुद्धको अभियानको क्रममा सबैभन्दा बढि गत वर्ष ठाकुरबाबा नगरपालिकामा र सबैभन्दा कम गुलरिया नगरपालिकामा यस रोग विरुद्धको औषधि सेवन गरिएको स्वास्थ्य कार्यालय बर्दियाका वरिष्ठ स्वास्थ्य अधिकृत गोकर्ण गिरिले जानकारी गराए । गिरीका अनुसार गुलरिया नगरपालिकामा ७२ प्रतिशत र ठाकुरबाबा नगरपालिकामा ८६ प्रतिशत मानिसहरुले औषधि सेवन गरेको बताएका छन । केहि समुदायका मानिसहरुमा आम औषधि सेवनका बारेमा गलत धारणा भएका कारण औषधि सेवनमा कमि आएकोे गिरिले बताए । हात्तीपाइले विरुद्ध खुवाइने औषधि कुनै परिक्षण गर्ने औषधि नभई विगत ७३ बर्ष देखि मानिसले प्रयोग गर्दै आएको हुँदा ढुक्क सँग औषधि सेवन गर्न कार्यक्रममा बताइएको छ । हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्दा यस रोगका परिजिवी भएका मानिसहरुलाई टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुन सक्छ यस्तो भएमा औषधिले प्रभावकारी काम गरीरहेको बुझ्नु पर्ने कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रममा औषधि सेवन गर्दा खालीपेट नखान चिकित्सकहरुले सुझाव दिएका छन् । बर्दियामा यस वर्ष ४ लाख ४५ हजार मानिसहरुलाई औषधि सेवन गराइने स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।
Discussion about this post