•  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं फागुन २१ गते ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज (शुक्रबार) एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन्। विप्लव नेतृत्वको नेकपा र सरकारबीच भएको तीन बुँदे सहमतिको विस्तृत विवरण सार्वजनिक समारोहमा ओली र विप्लवले सम्बोधन गर्ने भएका हुन्।

सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध बिहीबार फुकुवा गर्ने निर्णय गरिसकेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन गर्दै उक्त निर्णय गरेको हो। यसअघि सरकार र विप्लव समूहविच पटक–पटक गरी बुधबार तीन पटक वार्ता भएको थियो भने बिहीबार बिहान भएको पछिल्लो वार्तापछि दुई वार्ता टोलीले समहमति पत्रमा हस्ताक्षर गरेका थिए।

विप्लव नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादका माध्यमबाट गर्ने, राजनीतिक गतिविधि शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीसहितको सहमति भएको थियो। सहमति पत्रमा सरकारका तर्फबाट वार्ता टोली प्रमुख गृह मन्त्री रामबहादुर थापा बादल तथा विप्लव नेकपाका तर्फबाट खड्गबहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गरेका छन्।

सरकार र विप्लव नेकपाबिच बुधबारदेखि औपचारिक वार्ता सुरु भएको थियो। सरकारी वार्ता टोलीमा गृहमन्त्री थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराई तथा विप्लव नेकपाको टोलीमा खड्गबहादुर विश्वकर्मा र दीपक चलाउने थिए । हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै सरकारले २०७५ को फागुन २८ मा विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धपछि विप्लव भूमिगत रहँदै आएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here